जनता टाइम्स

१३ पुष २०८०, शुक्रबार १८:०१

‘ह्याट्रिक’ हिटको खोजीमा दयाहाङ र उपासनाको जोडी


काठमाडौँ १३ पुस । जारी’ हिट भएपछि फिल्म बजारमा दयाहाङ राई र मिरुना मगरलाई लिएर फिल्म बनाउने होडबाजी छ ।

कम्तिमा पनि आधा दर्जन फिल्म दया र मिरुनालाई लिएर बन्दैछन् । तर दयाको जोडी चुपचाप उपासना सिंह ठकुरीसँग पनि जम्दै गइरहेको छ ।

दया र उपासनाले पहिलो पल्ट ‘कबड्डी ३’मा सँगै काम गरेका थिए । फिल्म हिट भएसँगै जोडी पनि रुचाइएको थियो । तर मिरुनासँग जस्तो हातहातै निर्माताले उपासनासँग जोडी बनाउने रुचि भने देखाएनन् । तर सँगै काम गरेका दुवैको अर्को फिल्म पनि हिट नै भएको थियो ।

दीपेन्द्र लामा निर्देशित ‘दुई नम्बरी’मा दया र उपासना ठ्याक्कै जोडी त थिएनन् तर पनि यो फिल्ममा दुवैको उपस्थितिले फिल्मलाई फाइदा नै पुर्याएको थियो । फलतः यो फिल्म हिट पनि भयो ।

यही क्रमलाई निरन्तरता दिँदै फेरि एक पटक दया र उपासनाको जोडी ‘हात्तीछाप’मा देखिँदैछ । शक्रबार दुवैको अभिनय रहेको पहिलो गीत सार्वजनिक भएको छ ।

 

सार्वजनिक गीतमा अडियो पक्ष औसत रहे पनि भिडियोमा दुवैको केमेस्ट्री नजरअन्दाज गर्न सकिन्न ।

ग्रामिण परिवेशमा खिचिएको गीतमा दया र उपासनाको जोडी सुहाएको छ । यसले फिल्मको बक्स अफिस आँकडा आफ्नो ठाउँमा होला तर दर्शकमा दया र उपासनालाई पर्दामा देख्ने तृष्णा जगाउने निश्चित छ ।

यदि बक्स अफिसमा पनि फिल्मले सफलता हात पार्यो भने दया र उपासनाको सहकार्यले ह्याट्रिक पूरा गर्नेछ ।