काठमाडौं, पुस १६ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले बालकुमारी हत्याकाण्डमा मन्त्री प्रकाश ज्वाला दोषी रहेको किटानी गर्नुभएको छ ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नपुगेको भए शुक्रवार बालकुमारीमा त्यस्तो घटना नहुने तथ्यांक राख्दै आइजीपी कुँवरले घटनामा उहाँनै दोषी रहेको प्रष्ट किटानी गर्नुभएको हो ।
गत शुक्रवार बालकुमारीमा मन्त्री ज्वालालाई जोगाउने क्रममा प्रहरीले गोली प्रहार गर्नुपरेको कारण दुई जनाको ज्यान गएको थियो । सो घटनाको बिषयमा आज राज्य व्यवस्था तथा सुशासन समितिमा आइजिपी कुँवरले त्यसदिन मन्त्री ज्वाला त्यहाँ नपुगेको भए घटना नै नहुने बताउनु भयो ।
समितिको बैठकमा आइजीपी कुँवरले भन्नुभयो, ‘साढे ११ मा सामान्य बल प्रयोग भयो । ११ः५२ मा मन्त्रीज्यू पार्टी प्यालेसबाट कोटेश्वरतर्फ जाँदै गरेको अवस्था थियो । त्यही बेलामा पिएसओले जानकारी लिने समन्वयसमेत गरेन । ११ः५४ मा हातपात हुने अवस्था आयो ।’ आइजीपी कुँवरका अनुसार कुँवरले उपत्यकामा मन्त्री ज्वालालाई नै गाडीमै राखेर जलाउन लाग्यो भन्ने अवस्था सिर्जना भएपछि प्रहरीले गोली चलाएको बताउनु भयो ।
‘पिएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको थियो। १२ बजे मन्त्रीको आगो लागेको हो। गोली कतिबेला चल्यो यकिन छैन । मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन,’ पुनः दोहोर्याउँदै आइजीपी कुँवरले भन्नुभयो । मन्त्रीलाई नै जलाउने प्रयाश भयो भन्ने कुराले फिल्डमा खटिएका प्रहरीले धैर्यता गुमाएको पनि उहाँको भनाई छ ।
‘विशिष्ट व्यक्तिमाथि उपत्यकामा यो भयो भन्ने बित्तिकै अलिकति धैर्यता गुमाएको जस्तो अवस्था चाहिँ देखिन्छ । हामी सबैलाई थाहा छ, हामी व्यवहारिक बन्नुपर्छ । सिचुएशन फिल्डमा खटिने प्रहरी कर्मचारी हो । हामीले जे क्याल्कुलेशन गरेका हुन्छौं, त्यहाँ फिल्डमा २ प्लस २ चार हुन्न । त्यहाँ फरक हुन्छ,’ कुँवरले भन्नुभयो ।
बालकुमारी घटनामा बल प्रयोग नगरेको भए थप क्षति हुने पनि उहाँको जिकिर थियो । ‘कुनै घटनाको सामान्य अवस्थामा जाहेर गर्न सक्ने अवस्था हुन्छ । तर मन्त्रीज्यूको गाडीमा मन्त्रीज्यूलाई नै राखेर जलाउन लाग्यो भन्ने अवस्थाले आवेशमा आएको देखिन्छ,’ कुँवरले थप्नुभयो, ‘जेजति कुराहरू भए । युवाहरू जोशमा थिए । सोचेभन्दा फरक अवस्थामा थियो । यो कन्डिसनमा यति नगरेको भए अरू थप हुनसक्ने अवस्था थियो ।’
उहाँले त्यसदिन आन्दोलन हुनसक्ने भएपछि जिल्ला प्रहरी परिसर ललितपुरका कमान्डर डिएसपी उमेश लम्साललाई जान निर्देशन दिइएको बताउनु भयो । लम्साललाई मानवीय क्षति हुनेगरी बल प्रयोग गर्न भन्ने निर्देशन नदिइएको पनि उहाँको भनाई छ ।
‘त्यतिबेलाका जिल्ला कमान्डर तिमी आफैं जाउ हेर, कमान्ड गर, फटालिटी हुने गरी बल प्रयोग नगर भन्ने किसिमको निर्देशन दिएको अवस्था पनि थियो,’ कुँवरले भन्नुभयो, ‘त्यहाँ कम्युनिकेशनमा एउटा कुरा भनिएको होला । व्यवहारमा धेरै कुराहरू हुन्छन । ती कुराहरू भए/भएनन भन्ने कुराहरू पनि छानबिनको क्रममा आउला ।’
कुँवरका अनुसार त्यसदिन प्रहरीले माइकिङ, लाठीचार्ज, अश्रुग्यास प्रहार, रबरबुलेट प्रहार र हवाइफायर समेत गरेको थियो । ‘सम्झाइबुझाइ माइकिङ पनि गरेको छ, लाठी चार्ज गरेको अवस्था पनि छ, अश्रु ग्यास हामीले १२४ सेल पड्काएको पनि छ, रबर बुलेट पनि पड्काएको छ, बल्यांक फायर पनि खोलेको छ । जुन हामी हवाइ फायर भन्छौं,’ कुँवरले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्