काठमाडौं, १६ पुस । पिस प्वाइन्टले सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
चावहिल गणेशथान मैदानमा भएको फाइनलमा पिस प्वाइन्टले न्यु एरालाई ५–२ गोलले पराजित ग¥यो । पिस प्वाइन्टका राहुलकुमार योञ्जन र विशेष थिङले समान २–२ तथा रामबहादुर बुढाथोकीले १ गोल गरे । न्यु एराबाट दुवै गोल पेम्बा तामाङले फर्काए । राहुल फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
लुम्बिनी एकेडेमीले तेश्रो स्थानमा चित्त बुझाए । लुम्बिनीले बोर्न स्काइलार्कलाई २–० ले हरायो । लुम्बिनीको जितमा दुवै गोल आसिप नेपालीले गरे । आसिपनै ‘म्यान अफ द म्याच’ चुनिए ।
उत्तरभेगीय शैक्षिक मञ्च र ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी बने । न्यु एराकै साइन्टिस्ट राई उदीयमान खेलाडी ठहरिए । गोलरक्षकमा पिस प्वाइन्टका निराजन देउवा, डिफेन्समा पिस प्वाइन्टका महेश राई तथा स्ट्राइकरमा पिस प्वाइन्टकै राहुलकुमार योञ्जन उत्कृष्ट भए ।
विजेतालाई प्याब्सनका केद्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव, नेफका अध्यक्ष नारायण रोका, सचिव टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस ८ गतेदेखि सुरु भएको नकआउट प्रतियोगितामा ६४ टिम सहभागी थिए ।
डेन्मार्कमा हुने दाना कप जुनियर फुटबल प्रतियोगिताका लागि यसै प्रतियोगिताबाट ३० खेलाडी छनोट गरिएको छ । जुलाई २२ देखि २७ तारिखसम्म हुने प्रतियोगिताका लागि ३० खेलाडीको नाम नेफका अध्यक्ष नारायण रोकाले समापन कार्यक्रममा सार्वजनिक गरे । प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेफले जनाएको छ ।
सोही अवसरमा ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले उत्कृष्ट २८ खेलाडीलाई प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरे । ६० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो ।
छात्रवृत्ति पाउनेमा एनआईसीका अनिश जोशी, प्रदेश पाण्डे, गौरवबहादुर खड्का र युङद्रुङ वाङगेल गुरुङ, पशुपति
मित्र माविका प्रशान्त श्रेष्ठ र सुवास मग्रान्ती, बोर्न स्काइलार्कका सिजन शेर्पा, आदित्य शाह, मनोज बस्नेत र प्रतीक थापा, पिस प्वाइन्टका अभय घिमिरे, मनीष कार्की, सक्षम बान्तवा राई र शिवहरि विक, न्यु एराका नवीन थापा र अल्सन राई, लुम्बिनीका असिफ नेपाली, रविन बुढाथोकी र अनमोल तामाङ, बृहस्पतिका अग्रिमजंग बस्नेत, गोरक्षजंग सुवेदी र सुदन श्रेष्ठ, फ्युजन एकेडेमीका विराट खड्का र अनिल तामाङ, सांग्रिलाका समिर खड्का, छहारीका निशान तामाङ र अरुण लामा तथा नोब्सका जीवन बोगटी छन् ।
प्रतिक्रिया दिनुहोस्