जनता टाइम्स

१८ पुष २०८०, बुधबार ०५:५०

उद्यमीलाई राज्यबाट प्रोत्साहनका लागि नीतिगत पहल गर्न रिटर्नी उद्यमीको सुझाव


काठमाडौं, पुस १८ । रिटर्नी फेडेरेसनले बैदेशिक रोजगारबाट फर्केर स्वदेशमै उद्यम व्यवसाय गरिरहेका उद्यमीहरुसंग छलफल गरेको छ ।

स्थापना दिवसको सन्दर्भमा मंगलवार फेडेरेसनले आयोजना गरेको उद्यमीहरुसंगको अन्तरक्रियामा रिटर्नी उद्यमीहरुलाई सरकारी तहबाट प्रोत्साहनका लागि नीतिगत पहल गर्न सहभागी रिटर्नी उद्यमीहरुले सुझाएका छन । फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ३० जना रिटर्नी उद्यमीहरुको सहभागिता रहेको थियो । फरक फरक प्रकृतिका उद्यम व्यवशाय गरिरहेको उद्यमीहरु सम्मिलित कार्यक्रमलाई फेडेरेसनका महासचिव जेपी सापकोटाले संचालन गरेका थियो ।

पmेडेरेसनका उपाध्यक्ष तथा उद्यमशिलता विभाग प्रमुख शालिकग्राम वसेलले सहजिकरण गर्नुभएको उद्यमीहरुसंगको अन्तरक्रिया सेसनमा ओम मेगाश्री फर्मास्युटिकल्सका संचालक एवं गैर आवासिय नेपाली संघका पूर्वउपाध्यक्ष अर्जुन श्रेष्ठले बिदेशबाट आर्जित सीप, प्रविधि, पूँजी र अनुभवलाई स्वदेशमै प्रयोग गर्ने सवालमा रिटर्नीहरुलाई राष्ट्रव्यापी रुपमा एकिकृत गर्दै रिटर्नी उद्यमीहरुका सरोकारहरु सम्बोधन गर्ने सन्दर्भमा रिटर्नी फेडेरेसनले ठूलो भूमिका निर्वाह गर्न सक्ने बताउनु भयो ।

रिटर्नीहरुलाई उद्यमशीलतातर्फ डोर्याउने कार्यमा रिटर्नी अभियान कोसेढुंगाा सावित हुन सक्ने उल्लेख गर्दै श्रेष्ठले आफु पनि लामो समय बेल्जियममा पेशा व्यवशाय गरि नेपालमै केहि गर्न सकिन्छ भन्ने आत्मबिश्वासका साथ धेरै क्षेत्रमा लगानी गरिरहेकोले आशावादी भएको र रिटर्नीहरुसंग सहकार्य गर्न पाउदा आफुलाई खुशि मिल्ने बताउनु भयो । यूरोप अमेरिकामा रहने नेपालीहरु सुखि भएपनि असली खुसी चाहिँ स्वदेशमै भेटिने भएकोले स्वदेशमै लगानीको वातावरण खोजिरहेका बेला नेपाली युवाहरुमा भने नेपालमै सम्भावना खोज्ने क्रममा चरम निरासा देखिएको वर्तमान अवस्थालाई चिर्न पनि रिटर्नी फेडेरेशनको भूमिका महत्वपूर्ण हुने श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा लामो समय कतारमा रहि स्वदेश फर्केर शिक्षा क्षेत्रमा क्रियाशिल रहेका नरेन्द्र भट्टराईले मानिसको खर्चको ठूलो हिस्सा शिक्षा क्षेत्रले ओगटेको हुँदा यो क्षेत्र रोजाईमा परेको बताउदै “रिटर्नीहरुले आफुले जे जानेको छ त्यहि क्षेत्रमा लगानी गर्ने र मिहिनेत गर्ने हो भने नेपालमै पनि सम्भावनाहरु छन” भन्ने अनुभव सुनाउनु भयो ।

आफुलाई अनुभव नभएको धेरै क्षेत्रमा लगानी गरेर सफल हुन नसकेको तितो यथार्थता सुनाउदै कामपा ७ स्थित रिभेरा इन्टरनेशनल एकेडेमीका संचालक भट्टराईले बिदेशमा रहदा र स्वदेश फर्किदा वीचको दूरी व्यवस्थापनमा फेडेरेसनले आफुलाई केन्द्रीत गर्दै रिटर्नी उत्पादक र रिटर्नी उपभोक्ताको अवधारणामा आफुलाई अघि बढाउन अनुरोध गर्नुभयो ।

केराबारी गाउँपालिका, मोरङका अध्यक्ष सुमन मिरिङचिङले बिश्वका बिभिन्न मुलुकमा रही काम गरेको अनुभव साट्दै नेपालमै काम गर्दा जत्तिको आत्मसन्तुष्टि भने कहिंपनि नमिलेको बताउनु भयो । व्यवसायमा अब्बल देखिएका मिरिङचिङले राजनीतिमा प्रवेश गरेको छोटो अवधिमै गाउँपालिका अध्यक्ष बन्ने अवसर प्राप्त गरेको उदाहरण दिंदै नेपालमा जुनसुकै क्षेत्रमा अधिक सम्भावनाहरु रहेको उल्लेख गर्नुभयो ।

“पछिल्लो समय हरेक क्षेत्रमा जनताको अपेक्षा अति उच्च रहेको र उपलब्ध श्रोत, साधन, प्रविधिले जनताको त्यो अपेक्ष पुरा गर्न नसक्ने भएकोले जतिसुकै राम्रो गर्ने प्रयत्न गरेपनि जनप्रतिनिधिहरु घेराबन्दीमा पर्ने गरेका छन् ” उहाँले भन्नुभयो । जनचाहना र उपलब्ध श्रोत साधनको अधिकतम उपयोग मार्फत समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिमा आफु लागिरहने र यसमा पालिका भित्र रहेका रिटर्नीहरुको सहयोग प्राप्त हुनेमा पालिका अध्यक्ष मिरिङचिङले बिश्वास व्यक्त गर्नुभयो ।

अंकुर नेपालका अध्यक्ष प्रकाश सुवेदीले फेडेरेसनको पहुँच राज्यसंचालन तहसम्म जोडिएको हुनाले आम रिटर्नीका समस्या पहिचान गरी तिनको उचित सम्बोधनको लागि राज्यस्तरमै नीतिगत व्यवस्थामा जुट्नुपर्ने बताउनु भयो । दक्षिण कोरियाबाट फर्केर बागबजारमा बर्गर हाउस संचालन गरिरहेका यम श्रेष्ठले रिटर्नीहरु जुनसुकै वाद, दर्शन र सैद्धान्तिक आस्थाप्रति निकट रहेपनि उद्यमशिलता र रोजगारी सिर्जनामा एकैठाउँ रहनुपर्ने बताउदै आफु राष्ट्रिय स्वतन्त्र पार्टी निकट रहेपनि फेडेरेसनको उद्यमशिलता योजनामा साथसाथै रहने प्रतिवद्धता जनाउनु भयो ।

१८ बर्ष अष्ट्रेलिया बसि ४ बर्ष अघि नेपाल फर्केका भिष्म ओलीले बिदेश बसेर स्वदेश फर्केका अधिकांस नागरिक शहरकेन्द्रीत बसोवास गरिरहेकाले उनीहरुको गाउठाउमा रहेका लाखौं रोपनी जमिनहरु बाझो रहेको परिस्थिति उजागर गर्दै त्यस्ता उत्पादनयोग्य जमिनहरुको पहिचान गरी उत्पादनमा जोड दिनुपर्ने औंल्याउनुभयो ।

दक्षिण कोरियाबाट फर्केर काठमाडौंमा होटेल व्यवशाय संचालन गरिरहेका युवा नेत्र पौडेलले संयमित, धैर्यशिल र पारदर्शि भएर लगानी गर्ने र बजार प्रबद्र्धन गर्न सके पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउनु भयो । १६ बर्ष यूएईमा रोजगार गरी स्वदेश फर्केर काठमाण्डैमा क्लिनिङ सर्भिस उपलब्ध गराइरहेका रविन ठकुरीले नेपालको लागि क्लिनिङ सर्भिस नयाँ, आकर्षक र राम्रो सम्भावना बोकेको व्यवशाय भएपनि झन्झटिलो सरकारी प्रावधानले गर्दा व्यवशायीहरु निराश हुने गरेका र नियमनकारी निकायको अभावमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको बताउनु भयो ।

इजरायलमा रोजगारी गरी नेपाल फर्केर महिलाहरुका लागि सेनिटरी प्याड उत्पादनमा लागेकि गोमा खनाल सरकारले आफ्नो उत्पादनको लागि भारतबाट आयात हुने कच्चा पदार्थमा अत्याधिक कर लगाउने र भारतबाट आयात हुने तयारी अवस्थाको सेनिटरी प्याडमा ठुलो मात्रामा कर छुटको व्यवस्था गरी नेपाली उत्पानलाई निरुत्साहित गर्ने नीति अख्तियार गरेकोमा सबै साना उत्पादनकर्ताहरु पलायन हुने अवस्था रहेको बताउनु भयो । यस्ता अव्यवहारिक नीतिहरु परिमार्जन गर्न रिटर्नी फेडेरेसनले आफ्नो शक्ति प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सामुहिक लगानीमा भक्तपुरमा नेपाली कृषि उत्पादनहरु संकलन, प्रशोधन, प्याकेजिङ तथा विक्रि वितरण गर्दै आइरहेको रसिलो एग्रिकल्चरका महेश ढकालले नेपालीहरुमा देखासिकिका भरमा अनुभव नभएका क्षेत्रमा अध्ययन विनै लगानी गर्ने परिपाटी रहेकोले विदेशबाट दुःख गरी कमाई ल्याएको रकम डुब्ने गरेको बताउनु भयो । लगानी गर्नुपूर्व प्रशस्त अध्ययन गरेर उत्पादन र बजारीकरणमै जोडिदा पनि अप्ठ्यारो नपर्ने आफ्ना अनुभव सुनाउनुभयो । उहाँले पारदर्शि भएर प्रणालीलाई अवलम्वन गरी लगानीकर्ताहरु एक अर्काप्रति विश्वस्त र कामप्रति समर्पित रहने हो भने सामुहिक लगानीका परियोजना नै देशको लागि आजको आवश्यकता भएको बताउनु भयो ।

त्यसैगरी केहि समय यूएईमा परिवारै नेपाल फर्कि पतिसंगै प्रत्यक्ष रुपमा कृषि उत्पादनमा जोडिएर स्मार्ट कृषकको रुपमा आफुलाई परिचित गराउन सफल कृषि उद्यमी शर्मिला अधिकारी राउतले राम्रो उत्पादन हँुदा बजार नै नपाउने, उत्पादनको मूल्य अति कम भई उत्पादनमा लागेको मूल्य नै प्राप्त गर्न नसक्ने र ग्रामिण भेगका उत्पादन शहर केन्द्रीत बजारसम्म ल्याउन अझैपनि बाटाघाटो र यातायातको उचित प्रवन्ध नरहेकोले यसमा सुधार ल्याउन फेडेरेसनले आवाज उठाउनुपर्ने बताउनुभयो । हाल उहाँ काठमाडौंको किर्तिपुर, रामकोट र भोजपुरमा कृषि उत्पादन कर्ममा परिवार सहित लागिपर्नुभएको छ ।

कार्यक्रममा सहभागी अन्य रिटर्नी उद्यमीहरुले आफुले उद्यम संचालन गर्दा आइपरेका समस्या, नेपालमा उद्यम गर्दाका सम्भावना र चुनौतीका बारेमा चर्चा परिचर्चा गरेका थिए । फडेरेसनको तेश्रो स्थापना दिवसको अवसरमा आयोजितउक्त कार्यक्रममा फेडेरेसनका केन्द्रीय पदाधिकारीहरु, उद्यमशिलता विभागका सदस्यहरु र बागमति प्रदेश कमिटीका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम समापन गर्दै अध्यक्ष अधिकारीले उद्यमशिलतालाई मूल बाटो बनाएको फेडेरेसनले रिटर्नी उद्यमीहरुको संजाल मार्फत उत्पादनलाई उपभोक्तासंग जोड्ने, प्रवासीका परिवारहरुको संजाल निर्माण गरी रेमिटेन्सको प्रयोगलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गराउन पहल गर्ने, बैंक तथा बित्तिय संस्थाहरुसंग समन्वय गरी रिटर्नी उद्यमीहरुलाई बैंकिङ प्रक्रियामा सहजता प्रदान गर्ने, बिषयगत रुपमा रिटर्नी उद्यमीहरुसंग नियमित रुपमा बहस र अन्तरक्रिया गर्दै समस्या समाधानका लागि सरोकारवाला निकायसंग समन्वय गर्ने तथा नीतिगत व्यवस्थाका लागि आवस्यक पहलकद्मी लिने सवालमा फेडेरेसन सदैव क्रियाशिल रहने बताउनु भयो ।