जनता टाइम्स

१८ पुष २०८०, बुधबार ०९:१०

कास्कीमा जेल चलान भए रामेछापका माओवादी नेता


काठमाडौं, पुस १८ । पोखराको सूर्यदर्शन सहकारी संस्थाको ठगी मुद्दामा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका प्रवक्ता कैलाशकुमार दर्लामी जेल परेका छन् । कास्की जिल्ला अदालतले दर्लामीलाई कारागारमा नै राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष दर्लामीलाई पुर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको छ । अदालतमा भएको थुनछेक बहस पछि न्यायाधीश रामचन्द्र शर्माको एकल इजलासले दर्लामीलाई थुनामा पठाउने आदेश दिएको हो ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ का वडाध्यक्ष दर्लामीका विरुद्ध पक्राउ पुर्जी जारी भएपछि लामो समयदेखि लुकीछिपी बस्दै आएका थिए । दर्लामीलाई पुस १२ गते प्रहरीले पक्राउ गरी पोखरा पुर्‍याएको थियो ।

दर्लामीसँगै सहकारीको रकम ठगी गरेको आरोप लागेका १९ मध्ये सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कास्की जिल्ला अदालतले असोज २१ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यस्तै अन्य दुई जनाले मंगलबार अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका छन् ।

सो ठगी प्रकरणका प्रतिवादी मादी गाउँपालिका–१० का ३९ वर्षीय शिवबहादुर गुरुङ र स्याङ्जाको गल्याङ–९ का ४२ वर्षीय भविश्वर अर्याल अदालतमा उपस्थित भएका हुन् । गुरुङ सहकारी सञ्चालक समितिका पूर्व सदस्य हुन् भने अर्याल वर्तमान सदस्य हुन् । उनीहरूको बयान नसकिएपछि प्रहरी हिरासतमा पठाइएको छ । अध्यक्ष जीबी राई लगायतका अभियुक्त फरार छन् ।

सो सहकारीको १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैँया ठगी गरिएको हालसम्म उजुरी परेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम समेत जोडिएको छ ।