काठमाडौं, पुस १८ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियनका सभापतिले विद्यार्थीको हित विपरीत काम गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन । विभिन्न विद्यार्थी संगठनका नेताहरूले संयुक्त विज्ञप्ति जारी गरी स्वबियु सभापतिको कार्यको निन्दासमेत गरेका छन ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको एक वर्ष भइसक्दा स्ववियुले समग्र विश्वविद्यालयको प्रशासनिक नीतिगत लगायतका समस्यालाई उठान गरेर संस्थागत ढङ्गले समस्याको समाधान गरी सम्पूर्ण विद्यार्थीहरूको हितमा काम गर्नु पर्नेमा स्ववियुलाई नै बदनाम गराउने गरी व्यक्तिगत स्वार्थ अनुकूल असुली धन्दामा लागेको भन्दै विद्यार्थी संगठनहरुले स्ववियु सभापतिको आलोचना गरेका छन । कर्मचारी तथा प्राध्यापकहरूको सरुवा, बढुवामा स्ववियु अध्यक्षले नै आर्थिक चलखेल गरेको विद्यार्थी संगठनको आरोप छ ।
स्ववियु सभापतिले कुनै अमुक विद्यार्थी संगठन जस्तो गरी हरेक कुरालाई राजनीतिक रङ्ग दिई परीक्षा नियन्त्रण कार्यालयमा गरिएको आन्दोलनलाई असफल गराउन विद्यार्थीलाई तथानाम गाली गर्ने तथा धम्क्याउने कार्य गरेको भन्दै विद्यार्थी संगठनका नेताहरूले आपत्ति जनाएका छन् । नेताहरूले त्यस्तो कार्य नगर्न पनि स्ववियु सभापतिलाई चेतावनी दिएका छन् ।
संयुक्त वक्तव्यमा अनेरास्ववियु त्रिवि इञ्चार्ज प्रशान्त भण्डारी, अनेरास्ववियु त्रिवि अध्यक्ष समीर गौतम, त्रिविका अखिल क्रान्तिकारी अध्यक्ष प्रदीपराज भट्ट, नेपाल समाजवादी विद्यार्थी युनियन त्रिवि समितिका इञ्चार्ज रामनरेश यादव र अखिल छैटौँका त्रिवि अध्यक्ष संगम थापाले हस्ताक्षर गर्नुभएको छ ।
यसैबीच परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती, परीक्षा नियन्त्रकको लापरबाही, हेलचेक्र्याइँ र गैरजिम्मेवारी विरुद्ध स्वतन्त्र विद्यार्थी युनियन, विश्वविद्यालय क्याम्पस, कीर्तिपुर निरन्तर आन्दोलनरत रहेको युनियनका सचिव लगायतले संयुक्त विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।
क्रियाशील विद्यार्थी संगठनका केन्द्रीय अध्यक्षहरूलाई आन्दोलनमा संगठनको तर्फबाट ऐक्यबद्धता जाहेर गरी साथ, समर्थनका लागि बोलाइएको कार्यक्रममा नेपाल विद्यार्थी संघले स्ववियुको गरिमालाई अवमूल्यन गर्दै विपक्षमा नाराबाजी गरेर अवाञ्छित गतिविधि गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन, विश्वविद्यालय क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको उहाँहरूले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
‘विद्यार्थीहरूको साझा संस्था स्ववियुमा राजनीतिकरण गर्ने उद्देश्य राखेर लाखौँ विद्यार्थीहरूको मुद्दालाई बेवास्ता गर्दै संस्थाको निर्णय र मर्म विपरीत स्ववियुको नाममा गरिएका गतिविधि, स्ववियुका जिम्मेवार पदाधिकारीले विश्वविद्यालयमा नियमित अध्ययनरत विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी किन भइस् ?, कसलाई सोधेर आइस ? भन्ने तल्लो स्तरको गाली तथा धम्की प्रति समेत स्ववियु त्रिवि गम्भीर आपत्ति जनाउँदछ, विद्यार्थीहरूले दिएको मतको अवमूल्यन गर्दै संस्था विरुद्ध लाग्ने अधिकार कसैसँग नभएको त्रिवि स्ववियुको निष्कर्ष रहेको छ’, स्ववियु सचिव लगायतले जारी गर्नुभएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
त्यस्ता व्यक्तिको भण्डाफोर गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई बिज्ञप्तिमा आह्वानसमेत गरिएको छ । यसका साथै स्ववियु संस्थालाई राजनीतिकरण गर्ने, कुनै पनि व्यक्ति र संगठनका स्वार्थ पूरा गर्न स्ववियु संस्थाको प्रयोग हुन नदिने उहाँहरूले प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्