जनता टाइम्स

१८ पुष २०८०, बुधबार २०:२४

५० करोडको कारोबार गर्दै सकियो लुम्बिनी एक्स्पो


रुपन्देही, पुस १८ । रुपन्देही व्यापार संघको आयोजनामा बुटवल पुस ५ गतेबाट सुरु भएको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा ५० करोडको कारोबार भएको छ । बुधबार सकिएको मेलामा सो परिमाणको कारोवार भएको आयोजकले जनाएको छ ।

मण्डपमा निमार्णाधीन आधुनिक प्रदर्शनी केन्द्रमा १४ दिनसम्म संचालन भएको एक्स्पोका १० लाख दर्शकले अवलोकन गर्दा ५० करोड कारोबार भएको दाबी आयोजकको छ ।

प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव बनेको बताउनुभयो । अध्यक्ष घिमिरेले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक डिजाइनमा एक्स्पो गर्न पाउँदा व्यवस्थापनमा धेरै सहज भएको जानकारी पनि दिनुभयो ।

एक्स्पोमा संघले राखेको १० लाख दर्शकको अवलोकन र ५० करोड कारोवारको लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गर्दै उहाँले व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नुपरेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले सकारात्मक भूमिका निर्वाह गरेको बताउनु भयो ।

अध्यक्ष घिमिरेका अनुसार कृषिलाई प्राथमिकता दिएर थप व्यवस्थित र विशेष आर्कषक बनाएको मेलामा कृषि पेभिलियनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाभित्रका उत्पादनहरुलाई प्राथमिकता दिएर समावेश गर्दा सबै क्षेत्रबाट राम्रो सन्देश पाइएको छ ।

समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टलहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमका लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी र मेला मुल समितिका संयोजक कृष्णप्रसाद घिमिरेले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गर्नुभयो । स्टलहरुमा प्रथम गोल्ड स्टार सुज (उपहार सुज हाउस), द्वितीय चिनारी महिला साझेदारी अल्लो उद्योग तथा तृतीय लकासी अचार उद्योग तिलोत्तमा भएका छन् ।

त्यसैगरी, स्टल सहभागी सान्त्वना पुरस्कार राडीपाखी घरमना उद्योग, शुभ लक्ष्मी हेण्डीक्राफ्ट एण्ड मोडल गार्मेन्ट उद्योग, सिओना लेडिज स्लिपर्श र बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स नेपाल) ले पाएको छ भने महिला उद्यमीको तर्फबाट नेचुरल दुना टपरी उद्योग तथा उत्कृष्ट सजावट दुर्गड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्रालि पुरस्कृत भएका छन् ।

मेलाको पुस ५ गते नेपाल सरकारका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुभएको थियो । एक्स्पोमा सूचना प्रविधि, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, रेष्टुरेण्टलगायतका विभिन्न प्रकृतिका करिव ६ सय स्टलहरु रहेका थिए ।

एक्स्पोलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, विद्यालयस्तरीय लोकनृत्य, डान्स आइडल, भजन, र्याप लगायतका प्रतियोगिताहरु आयोजना गरिएको थियो ।