जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १६:४३

संसदमा देउवा–नेम्वाङबीच कडा सवाल–जवाफ


काठमाडौं, असोज २ । संघीय संसदको अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको रोष्टममा उभिएर प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा र सत्तारुढ दलका उपेनता सुवास नेम्वाङबीच सवाल जवाफ भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिपक्षमाथि दमन गरेको आरोप कांग्रेस सभापति देउवाले लगाउनु भएपछि नेम्वाङले संसदको रोष्टमबाटै व्यंग्यात्मक जवाफ दिनुभएको हो । उहाँले अहिले के भएको छ भन्दै बिगतमा कांग्रेसबाट आफूहरु ठुलै दमनमा परेको स्मरण गराउनु भयो । देउवापछि बोल्ने पालो पाउनु भएका संबिधानसभा अध्यक्षसमेत रहनुभएका उपनेता नेम्वाङले कांग्रेससँग आफूहरुले प्रतिपक्षको हैसियतले लामो समय सहकार्य गरेको स्मरण गराउँदै बिगतमा आफूहरुले भोगेजस्तो अवस्था अहिलेको प्रतिपक्षमाथि आउन नदिने प्रष्ट पार्नुभयो ।

‘हामीलाई त्यो बेलाका भोगाई झल्झली सम्झनामा छन । सत्तापक्षले चिन्न सजिलो होस भनेर दौरा सुरुवाल टोपी लाएर जनतासँग भेट्न जाँदै गर्दा सिंहदरबारको गेटमा चेप्टिने गरी धुमधाम कुटाइ खाएको पनि झल्झली सम्झना छ । हामीले ती घटनाबाट सिकेको छौं, हाम्रो पालामा त्यस्तो हुन दिँदैनौं,’ नेम्वाङले भन्नुभयो । कांग्रेस सभापति देउवाले बाँके घटनाको प्रसंग ल्याउँदै आफूहरुमाथि सत्तापक्ष दमनमा उत्रिएको आरोप लगाउनु भएको थियो ।

जवाफमा नेम्वाङले देउवा गृहमन्त्री हुँदा २०४९ सालको घटना स्मरण गराउनु भयो । ‘मैले कतैतिर टिप्पणी गरेको होइन, हिजो कसले कहिले के गर्नुभयो भन्नेतिर म जान खोजेको होइन । हाम्रा हिजोका पृष्ठभूमि पनि थाहा छ । तर प्रतिपक्षका रुपमा हामीले भोगेका सम्पूर्ण भोगाइहरु हामीलाई झल्झली सम्झना छ,’ नेम्वाङले भन्नुभयो ।

कांग्रेसले पटकपटक संसद अवरोध गरेकोतर्फ पनि उहाँले कडा प्रहार गर्नुभयो । अब कहिल्यै संसद अवरोध नहुने व्यवस्था गर्न विशेष समिति बनेको उहाँको भनाई थियो । त्यो विशेष समितिको म्याद थपिएको जानकारी दिँदै आउने अधिवेशनबाट संसद कहिल्यै अवरोध नहुने गरी विशेष व्यवस्था हुने उहाँको भनाई थियो ।