जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १६:३५

जहाज होल्डबारे छानविन गर्न पर्यटनमन्त्रीको निर्देशन


काठमाडौं, असोज २ । संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले अवतरणको तयारीमा रहेका जहाज आकाशमै होल्ड भएको बारे छानविन गर्न नेपाल नागरिक उड्‍डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

विहिवार विहान नेपाली आकाशमा ७ वटा अन्तराष्ट्रिय जहाज होल्ड भएका थिए । सबैभन्दा लामो होल्डमा भने कतार एयरवेज भएको थियो । जुन जहाज विमानस्थलमा ल्याण्ड भएरपनि लामो समय ट्याक्सी वे मै बस्नु परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि करिब डेढदेखी तीन घन्टा ठूला जहाजको अवतरण अवरुद्ध भएको थियो ।

कतार एयरवेजको साढे तीन घण्टा होल्ड

कतारबाट स्थानीयसमयअनुसार ३ बजेर २५ मिनेट उडेको विमान काठमाडौंमा ४ घण्टा ३० मिनेटमा अवतरण गर्छ । अर्थात् नेपालीसमयअनुसार १० बजेर २५ मिनेटमा अवतरण गर्छ । कतारको समय नेपालको भन्दा २ घण्टा ४५ मिनेट ढिलो छ । तर, बिहीबार फ्लाइट नम्बर ६५२ को एयरबस ३३०–३०२ कतार एयरवेज काठमाडौं विमानस्थलमा अवतरण गर्न ७ घण्टा भन्दा बढी समय लाग्यो ।

कतार एयरको उक्त जहाज ३ घण्टा १२ मिनेटसम्म नेपाली आकाशमा होल्डमा पर्‍यो। यति लामो समयसम्म होल्डमा परेको कमै रकेर्ड छ नेपाली आकाशमा। तर बिहीबार ३ घण्टा भन्दा बढी हेटौंड माथि होल्डमा पर्दा यात्रुहरुले हैरानी व्यहोर्नु पर्‍यो। त्यतिमात्रै होइन अवतरण भइसकेपछि पनि यात्रुहरु विमानबाट ओर्लन पाएनन्। ट्यक्सी वेमा नै जहाज रोकियो र करिव ८ घण्टासम्म जहाज भित्रै बस्न बाध्य भए यात्रुहरु।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार भीओआर र डीएमई उपकरण १० बजेर ४८ मिनेटमा बिग्रिएको थियो। साढे १२ बजेतिर यसको मर्मत सकिएको थियो। त्यसपछि होल्डमा रहेका जहाज विमानस्थलमा अवतरण हुन थाले। तर पनि कतार एयरवेज चाहिँ होल्डमा नै पर्‍यो।

क्षत्रीका अनुसार कतारले उक्त फ्लाइटमा एयसबस ३३० सिरिज जहाज उडाएको थियो। उक्त विमान विमानस्थलको जुनसुकै पार्किङ वेमा पार्क हुन सक्दैन। कतारको लागि चाहिने पार्किङ वे खाली थिएन। क्षत्रीका अनुसार १ नम्बर पार्किङ वे मर्मत भइरहेकोले खाली थिएन भने २ नम्बर पार्किङमा बुधबार राति हङकङबाट आएको क्याथे ड्र्यागनको जहाज बिग्रिएर ठाउँ ओगटेको थियो। जसले गर्दा कतार होल्ड हुन पुग्यो।