जनता टाइम्स

२ आश्विन २०७६, बिहीबार १९:२५

प्रदीप गिरीको ठोकुवा : योभन्दा राम्रो सविधान अरु हुन सक्दैन


काठमाडौं, असोज २ । नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले नेपालको संबिधान भन्दा राम्रो अरु संबिधान हुनै नसक्ने ठोकुवा गर्नुभएको छ । संविधान दिवसको अवसरमा आज उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतले आज आयोजना गरेको ‘संविधान कार्यान्वयन उपलब्धि र आगामी मार्गचित्र’ विषयक अन्तक्र्रियामा बोल्दै नेता गिरीले सो ठोकुवा गर्नुभएको हो ।

‘योभन्दा राम्रो सविधान अरु हुन सक्दैन,’ गिरीले भन्नुभयो, ‘यही संविधानबाट मुलुकलाई समृद्धि बनाउनु पर्दछ ।’ नेता गिरीले पहिलोपटक सार्वभौमसत्ता नेपाली जनतामा राखिएको अहिलेको संविधान सबैले मिलेर कार्यान्वयन गर्नुपर्ने धारणा पनि राख्नुभयो । कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले संविधानलाई जीवन्त बनाउन यसका सुधार पक्षलाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले संविधान आफैँमा पूर्ण नहुने भन्दै अभ्यास गरेर नै यसमा सुधार गर्दै जानुपर्ने बताउनुभयो ।

वित्तीय सङ्घीयता विज्ञ डा खिमलाल देवकोटाले संविधानबारे भ्रम चिर्नुपर्ने बताउनुभयो । ‘सङ्घीयता, धर्म निरपेक्ष, गणतन्त्रले नै मुलुकको विकास हासिल गर्ने हो तर यसबारे भ्रम फैलाइँदै छ । समयमा नै यसलाई चिर्नुपर्दछ,’ देवकोटाले भन्नुभयो ।