जनता टाइम्स

२१ पुष २०८०, शनिबार १८:५५

एमजी जेडएस ईभीमा गम्भीर समस्या रहेको तथ्य उजागर, चार्जिङ गर्दा गाडी जलेर नष्ट भएको खुलासा


काठमाडौं, पुस २१ । एमजी मोटर्स नेपालले भित्र्याएको विद्युतीय कार जेडएस ईभीमा गम्भीर समस्या देखिएको छ । सो कारमा रहेको समस्याका कारण चार्जिङको क्रममा कुनैपनि बेला आगलागी हुने खतरा देखिएको हो ।

चार्जिङको क्रममा गत पुस ९ गते आगलागी भएर कार नष्ट भएपछि यो तथ्य बाहिर आएको हो । यो समस्याबारे एमजी मोटर्सका सञ्चालक तथा कर्मचारी जानकार रहे पनि ग्राहकले खरिद नगर्ने भन्दै गुपचुप राखेर बिक्रि गर्दै आएको तथ्यसमेत सो आगलागीको घटनापछि बाहिर आएको छ ।

गत पुस ९ गते राती एमजी मोटर्सको गाडी चार्जिङको क्रममा आगलागी भई गाडी पूर्ण रूपमा नष्ट भएको थियो । तर सञ्चालकले गाडी धनीसहित प्रहरीलाई समेत प्रलोभनमा पारेर घटनालाई सार्वजनिक नगरी गुपचुप पारेका हुन ।

एमजी मोटर्सको बिद्युतीय कार चार्जिङको क्रममा आगलागी भएको घटना काठमाडौंको बुढानीलकण्ठ नगरपालिका देउवा चोक नजिकै भएको हो । बागमती प्रदेश–०१ ०२७ च १५८१ नम्बरको उक्त गाडी खाली चौरमा पार्किङ गरिएको थियो । सोही क्रममा आगलागी भएर नष्ट भएको हो ।

पार्किङका क्रममा चार्जमा लगाइएको उक्त गाडी खुला स्थानमा रहेकाले अन्य धनजनको क्षति हुन नपाएको काठमाडौंको प्रहरी प्रभाग बुढानीलकण्ठका प्रहरी निरीक्षक (इन्सपेक्टर) योगराज खतिवडाले बताउनु भएको छ ।

प्रहरी मुचुल्कामा चार्जिङका क्रममा मध्यराति १ बजेको समयमा गाडीमा आगलागी भएको उल्लेख छ । तर त्यसको यकिन कारण खुलाइएको छैन । सो गाडीका धनी गोरखाका सुदीप लामिछाने रहेको बताइएको छ । सापकोटाले यस घटनाको बिषयमा तत्कालै जानकारी दिएपछि एमजी मोटर्सका ब्यक्तिहरु घटना लुकाउन लागेको पाइएको हो । प्रहरीका अनुसार आफन्तको घरमा आएका बेला चार्जिङका क्रममा गाडीमा आगलागी भएको थियो ।

सवारी धनी लामिछानेले घटनापछि दिएको प्रतिक्रियाले पनि सञ्चालकहरुले आफ्नो गाडीमा रहेको खरावी ढाकछोप गर्न लागेको प्रष्ट पारेको छ । घटनाबारे जानकारी माग्दा लामिछानेले ‘अहिले गाडीमा आगलागी भएको विषयमा कम्पनीसँग कुराकानी भइरहेको छ, शर्ट भएर आगलागी भएको होइन, कारण अर्कै छ’ भन्नुभएको छ ।

लामिछानेले आगलागीको विषय आफू र आफ्नो परिवार तथा बिक्रेता कम्पनीबाहेक अरू कसैलाई थाहा नभएको भन्दै कसरी जानकारी पाउनु भयो भन्ने उल्टै प्रश्न पनि गर्नुभएको छ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो ।

गाडीमा भएको आगलागीको विषयमा बुझ्न पारामाउन्ट मोटर्सका शेयर धनी रहेका सञ्चालक निकुञ्ज अग्रवालसँग जनताटाइम्स डटकमले सम्पर्क गर्दा केही समयमा कुरा गर्ने भन्दै सम्पर्कमा आउनै चाहनु भएन । जनताटाइम्स डटकमले पटक पटक सम्पर्क गर्दा पनि अग्रवाल केही बेरमा बुझेर फोन गर्ने भन्दै तीन दिनसम्म केही समयमा जानकारी दिने भन्दै झुलाउँदै सम्पर्कबिहीन हुनुभयो ।