काठमाडौं, पुस २४ । राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दलहरुले जनमतकै हुर्मत लिएका छन । जनताले तिरस्कृत गरेको पात्रलाई छानीछानी राष्ट्रिय सभामा लैजाने निर्णय गरेर दलहरुले जनमत र लोकतान्त्रिक गणतन्त्रकै हुर्मत लिएका हुन ।
राष्ट्रपतिबाट मनोनीत हुने कोटासहित राष्ट्रिय सभाका लागि २० सिटको भागबन्डा हुँदा सत्तारुढ गठबन्धनमा सबैभन्दा ठूलो हिस्सा (१० सिट) कांग्रेसले पाएको छ । सभापति शेरबहादुर देउवाले पार्टीभित्र बहुमतको दम्भ देखाएर अवसर नपाएका र क्षमतावानलाई भन्दा आफ्ना गुटका नेतालाई छानेपछि शेखर कोइराला पक्षीय नेताहरूले विरोध गरेका छन । राष्ट्रिय जीवनमा ख्याति प्राप्त, लोकतान्त्रिक पक्षधरको प्रतिनिधित्व नभएकोमा पनि सो पक्षको आपत्ति छ ।
०४८ देखि राजनीति शक्तिकेन्द्रमा रहनुभएका पूर्वमहामन्त्री र पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि तराई मधेशको प्रतिनिधित्व भन्दै ०४८ देखि नै चुनाव लडनु भएका तथा चार पटक सांसद र मन्त्री भइसकेका आनन्द ढुंगानासम्मलाई उम्मेदवार बनाइएको छ । दुवै जना गत निर्वाचनमा जनताले तिरस्कृत गरेका पात्र हुनुहुन्छ ।
कांग्रेसले कोशीबाट सिटौला (अन्य), मधेशबाट ढुंगाना (अन्य), वाग्मतीबाट जितजंग बस्नेत (अन्य) र विष्णुदेवी पुडासैनी (महिला), गण्डकीबाट किरणबाबु श्रेष्ठ (अन्य) र पदमबहादुर परियार (अपांगता र अल्पसंख्यक), लुम्बिनीबाट विष्णुकुमारी सापकोटा (महिला), कर्णालीबाट कृष्णबहादुर रोकाय (अन्य) र सुदूरपश्चिमबाट बलदेव बोहोरा (अन्य) तथा नारायणदत्त भट्ट (अपांगता, अल्पसंख्यक) लाई उम्मेदवार बनाएको छ ।
कांग्रेस सभापति देउवा र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल मिलेरै सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रिय सभामा ल्याउन लागिएको छ । संविधान जारीपछि भएको ०७४ र ०७९ मा भएका दुवै निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग झापा–३ बाट सिटौला पराजित हुनुभएको थियो ।
निर्वाचन आयोगले एउटा निर्वाचनबाट पराजित व्यक्ति सोही अवधि (पाँच वर्ष) अर्को निर्वाचनमा भाग लिन नपाउने कानुन प्रस्ताव गरेको छ । संविधानले पनि निर्वाचन हारेका व्यक्तिलाई पाँच वर्षको कार्यकालभर मन्त्री हुन निषेध गरेको छ तर देउवाले ती सवै प्रावधानलाई लत्याउनु भएको छ ।
मधेशमा अन्य समूहबाट उम्मेदवार बनेका ढुंगाना कांग्रेसको अनुशासन समितिका संयोजक हुनुहुन्छ । उहाँ ०४८ यता चार पटक सांसद बनिसक्नु भएको छ । ढुंगाना ०४८, ०५१ र ०५६ मा प्रत्यक्ष र ०७० मा समानुपातिकबाट सांसद भएका थिए । उनी ०६४ र ०७४ को निर्वाचनमा पराजित हुनुभयो ।
०५५ मा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा आपूर्ति र वनमन्त्री बन्नुभएका थियो । केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसीले उम्मेदवार छनोटमा एक पक्षीय र समावेशिताको संवैधानिक सिद्धान्त उल्लंघन भएको भन्दै फरक मत दर्ता गराउनु भएको छ । यस्तै उम्मेदवारीमा कांग्रेसले मधेसी समुदायलाई लात्र हानेको छ ।
कांग्रेसबाट टिकट पाउनेमा वाग्मतीमा बस्नेत तरुण दलका पूर्वअध्यक्ष हुन् भने पुडासैनी महिला संघ काठमाडौंकी अध्यक्ष हुनुहुन्छ । गण्डकीबाट अन्य समूहको टिकट पाउने श्रेष्ठ पार्टीको प्रदेश कार्यसमिति महामन्त्री हुनुहुन्छ । उहाँ प्रदेशको समानुपातिक सूचीमा समेत रहनुभएको थियो । गण्डकी प्रदेशमा रिक्त अपांग÷अल्पसंख्यक समूहबाट पदमबहादुर परियार उम्मेदवार भएका हुनुभएको छ ।
लुम्बिनीबाट महिला उम्मेदवार सापकोटा ०७४ को स्थानीय तहको निर्वाचनमा गुल्मी मुसिकोट नगरपालिकाको उपमेयरमा पराजित नेतृ हुनुहुन्छ । प्रदेशको समानुपातिक सूचीमा समेत रहेकी उहाँ प्रदेश कार्यसमितिका सदस्यसमेत हुनुहुन्छ । सुदूरपश्चिममा अन्य समूहबाट उम्मेदवार बोहोरा जिल्ला विकास समितिमा पूर्वसभापति र ०७० मा समानुपातिकबाट सांसद बन्नुभएको थियो ।
यस्तै अपांगता कोटाबाट उम्मेदवार बनेका नारायणदत्त भट्ट कैलाली जिल्ला कार्यसमितिका पार्टी सभापति हुनुहुन्छ । उम्मेदवार छनोटमा समावेशितालाई ख्याल नगरी एकै व्यक्तिलाई पटक–पटक अवसर दिएको भन्दै कांग्रेसबाट चुनाव जितेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले राष्ट्रिय सभा निर्वाचनमा मत नखसाल्ने घोषणा गर्नुभएको छ ।
महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्माले पार्टी राजनीतिमा नलागेका तर लोकतन्त्रवादी, बौद्धिक समुदाय र प्रतिनिधित्व नभएको वर्गबाट उम्मेदवार नबनाइएको भन्दै विरोध जनाउनु भएको छ । यसरी लिखित असहमति जनाउनेमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र बलबहादुर केसी पनि छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले बैठकमै ६ बुँदे असहमति पेस गर्नुभएको छ ।
कांग्रेसभित्र विवादित अर्का उम्मेदवार ढुंगानालाई बनाएपछि मधेशी अनुहारको प्रतिनिधित्व नभएको भन्दै पार्टीभित्र चर्को विरोध भएको छ । समानुपातिक निर्वाचनमा खसआर्यलाई प्राथमिकता दिँदा अल्पसंख्यक मुस्लिम समुदायको प्रतिनिधित्वसमेत हुन सकेको छैन । राष्ट्रिय सभामा कांग्रेसले एक जना पनि मुस्लिम उम्मेदवार दिएन । आफ्ना नजिककालाई ल्याउन सभापतिले गठबन्धन दलबीच भागबन्डा हुँदा दलित क्लस्टर नलिएको भन्दै पार्टी बैठकमा विरोध भएको थियो ।
माओवादीले कोशीमा चम्पादेवी कार्की (महिला), वाग्मतीमा श्रीकृष्णप्रसाद अधिकारी (अपांगता), गण्डकीमा मनरूपा शर्मा सुवेदी (महिला), लुम्बिनीमा झक्कुप्रसाद सुवेदी (अन्य), कर्णालीमा विष्णुबहादुर विक (दलित) र सुदूरपश्चिममा रेणु चन्द (महिला) लाई उम्मेदवार बनाएको छ ।
गत वर्षकै प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट पराजित दुर्गा पौडेललाई सत्ता गठबन्धनले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गराएर राष्ट्रिय सभा सदस्य बनाउने तयारी गरेको छ । एकीकृत समाजवादीले घनश्याम रिजाल (दलित समूह) लाई वाग्मतीबाट र सावित्री मल्ल (महिला समूह) लाई कर्णालीबाट उम्मेदवार बनाएको छ । राष्ट्रिय पार्टी नभए पनि एसले गठबन्धनको साझेदारीमा दुई सिट पाएको छ, जबकि राष्ट्रिय पार्टी जनमतले एक सिट मात्र ।

यस्तै गठबन्धनको अर्को घटक जनता समाजवादीले पूजा चौधरी (महिला समूह) लाई उम्मेदवार बनाएको छ । उहाँ गत प्रदेशसभा निर्वाचनमा रौतहट–३ (क) बाट उम्मेदवार भई पराजीत हुनुभएको हो । उहाँ जसपा केन्द्रीय कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी हुनुहुन्छ ।
राष्ट्रिय सभा सदस्यमा दिइएको उम्मेदवारीलाई लिएर निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त एवं राजनीतिक विश्लेषक भोजराज पोखरेलले शक्ति हातमा लिएर बसेका केही दलका नेतृत्वले छविमा सुधार ल्याएको अवसर गुमाएको बताउनु भयो । ‘राष्ट्रिय सभा नेता–कार्यकर्ताको भर्ती केन्द्र होइन । प्रतिनिधिसभामा प्रतिनिधित्व गरेर आउन नसक्ने छुट्टै पहिचान, विशेषता र क्षमता भएका, मुलुक र संसार बुझेका, क्षेत्रीय र जातीय सन्तुलन भएकाहरूको सभा हो, राष्ट्रिय सभा । यही चरित्रअनुसार उम्मेदवार अघि सारिनु पर्थ्यो, तर दलहरूले त्यसो गरेनन,’ पोखरेलले भन्नुभयो ।
राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण पोखरेलले अनुभवी, समाजमा प्रतिष्ठित र विभिन्न समुदायका व्यक्ति राष्ट्रिय सभा सदस्य हुने परिकल्पना भए पनि नेता व्यवस्थापन गर्ने ठाउँ बनेको बताउनु भयो । ‘गठबन्धनका उम्मेदवार हेर्दा प्रमुख नेताले निकट व्यक्ति व्यवस्थापन गर्ने ठाउँ बनेको देखियो,’ उहाँले भन्नुभयो ।
एमालेले भने चुनाव हारेका र नेताका आफन्तलाई उममेदवार बनाएको छैन । एमालेले कोशीमा मजदुर नेता ओम कोइरालाको परिवारबाट रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ ।सुनसरी इटहरीकी स्थायी बासिन्दा कोइरालाको निवास भूमिगत समयमा एमालेका नेताहरूको सेल्टर थियो ।
एमालेले अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरूनी (पर्सा), अन्यबाट कुमारी विजेता झा (महोत्तरी), वाग्मतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपांगता/अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपांगता/अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) उम्मेदवार बनाएको छ ।
अन्य उम्मेदवारमा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता÷अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) हुनुहुनछ ।













प्रतिक्रिया दिनुहोस्