जनता टाइम्स

२६ भाद्र २०८३, शुक्रबार १६:२१

ग्यास कालोबजारीबिरुद्ध प्रहरी आक्रामक : गैह्रीगाउँ, नरेफाँट र सामाखुसीबाट १०७७ सिलिन्डर ग्यास बरामद, ३ जना पक्राउ


काठमाडौं, भदौ २६ । ग्यासको कालोबजारीबिरुद्ध प्रहरी आक्रामक बनेको छ ।

संघीय राजधानी काठमाडौं उपत्यकालगायत देशभर ग्यासको अभाव बढनुका साथै उपभोक्ता लामो लाइनमा लाग्न बाध्य हुनुपरेपछि शुक्रवारबाट प्रहरीले ग्यासको कालोबजारीबिरुद्ध आक्रामक अभियान अघि बढाएको हो ।

यही क्रममा प्रहरीले काठमाडौँको नरेफाँट र सामाखुसीबाट खाना पकाउने एलपी ग्यास बरामद गरेको छ । काठमाडौँ–३२ स्थित नरेफाँटबाट १८३ थान र सामाखुसीबाट १८९ थान सिलिन्डर बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

ग्यास कालोबजारी गरेको आरोपमा नरेफाँट स्थित रामेछाप ब्राण्ड ग्यास डिलरका सञ्चालक नारायण श्रेष्ठ र बसुन्धारास्थित हाम्रो सगरमाथा सहकारी संस्थामार्फत ग्यास कारोबार गर्ने प्रदीप घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले २ हजार ६ सय ग्यास बेच्ने गरेको भेटिएको प्रहरीले बताएको छ । नरेफाँटको ग्यास डिलर सञ्चालकलले स्टक राखेर अभाव देखाउँदै साँखु र चक्रपथमा लगेर धेरै मूल्यमा ग्यास बेच्ने गरेको एसपी काकीले बताउनु भयो ।

प्रहरीले शुक्रवार काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँबाट प्रहरीले ७०५ सिलिण्डर ग्यास बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड गरिएको अवस्थामा सो परिमाणको ग्यास सिलिण्डर बरामद गरेको हो ।

बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सूर्यबिनायकबाट ७५ थान र ईटाछेबाट २८ थान सिलिन्डर बरामद गरेको थियो । भक्तपुरबाट ग्यासको कालोबजारी गरेको आरोपमा सूर्यबिनायक नगरपालिका–३ स्थित ब्रम्हनगरमा सर्लाही जनरल स्टोर सञ्चालन गर्ने २५ वर्षीय उमेश साह र इटाछेमा सगर ग्यास बेच्दै आएका ४१ वर्षीय राजेश कर्माचार्यलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

शाहले उपभोक्तालाई प्रतिसिलिन्डर २८ सयमा ग्यास बेच्ने गरेको भेटिएको छ । भक्तपुरबाट पक्राउ परेका दुवै जनालाई अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको छ ।