जनता टाइम्स

२६ भाद्र २०८३, शुक्रबार १५:२५

आइजीपी कार्कीबिरुद्ध खुलेरै मैदानमा उत्रिए सांसद खगेन्द्र सुनार, संसदबाटै गरे तत्कालै बर्खास्त गर्न माग


काठमाडौं, भदौ २६ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई तत्कालै बर्खास्त गर्न माग गर्नुभएको छ ।

आइजीपी कार्की भ्रष्टाचारी रहेको भन्दै सुनारले संसदको बैठकमै तत्कालै बर्खास्तगीको माग गर्नुभएको हो । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्री बर्खास्तमा परिसकेको भन्दै भ्रष्टाचारको आरोप लागेका आइजीपी कार्कीलाई भने किन बर्खास्न नगरेको भन्दै हटाउनुपर्ने माग गर्नुभयो ।

‘करोडौं करोड भ्रष्टाचार गरेको आरोप नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उनको श्रीमतीलगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ । करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ । तल्लो दर्जाका प्रहरीहरूको जुत्ता, मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ,’ सुनारले भन्नुभयो, ‘करोडौँ करोड भ्रष्टाचार गरेको आरोप आइजीपीमाथि लागेको छ । उनलाई एक मिनेट पनि पदमा राखिरहन मिल्दैन ।’

सांसद सुनारले यो सरकार आइजीपी कार्कीलाई बर्खास्त किन गरिरहेको छैन ? भन्दै आक्रोशपूर्ण प्रश्न गर्नुभयो । ‘उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइराखिएको छ ? म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । कहिले पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ । यो बारेमा सचेत हुनुपर्छ,’ सुनारले भन्नुभयो ।

सांसद सुनारले यसअघि सार्वजनिक लेखा समितिको बैठकमा पनि आइजीपीमाथि जथाभावी बोल्दै भ्रष्टाचारी करार गर्नुभएको थियो । जवाफमा आइजीपी कार्कीले कठोर शब्द फर्काउँदै मर्यादा उलंघन भएको जनाउनु भएको थियो । आइजीपी कार्कीले प्रहरीमाथि यसरी आक्षेप लगाउने कामप्रति गृहमन्त्री सुधन गुरुङ र सभामुख डीपी अर्याललाई भेटेरै आपत्तिसमेत जनाउनु भएको थियो ।