जनता टाइम्स

२७ पुष २०८०, शुक्रबार १७:००

जनसंगठन अध्यक्षलाई केन्द्रीय कमिटी बैठकमा सहभागी गराउन एमालेमा औपचारिक प्रस्ताव


काठमाडौं, पुस २७ । नेकपा एमालेमा जनसंगठनका अध्यक्षलाई पार्टीको केन्द्रीय कमिटी बैठकमा अनिवार्य सहभागिताको ब्यवस्था गर्न प्रस्ताव आएको छ । जनसंगठन समन्वय संयन्त्रको बैठकमा यस्तो प्रस्ताव गरिएको हो ।

बैठकमा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य ढकालले जनसंगठन पार्टीको मेरुदण्ड रहेको भन्दै केन्द्रीय कमिटी बैठकमा सहभागिता गर्नुपर्ने प्रस्ताव गर्नुभएको सहभागी एक नेताले जनताटाइम्स डटकमलाई बताए । ती सदस्यका अनुसार ढकालले सवै महत्वपूर्ण काम जनसंगठनले गर्नुपर्ने अवस्था रहेको तथ्य औल्याउदै केन्द्रीय कमिटी बैठकमा सहभागिता हुनैपर्ने तर्क गर्नुभयो ।

‘जनसंगठन पार्टीको मेरुदण्ड हो, जिम्मेवारी पनि पार्टीको प्रदेश कमिटीको भन्दा राम्रो निर्वाह गरिरहेका छन । अव मिशन ०८४ सफल बनाउन जनसंगठनका अध्यक्षलाई केन्द्य्रीय कमिटी बैठकमा सहभागी गराउनै पर्छ,’ बैठकमा ढकाललको प्रस्ताव थियो ।

ढकालको प्रस्तावलाई बैठकमा सहभागी सवै जनसंगठनका अध्यक्ष तथा इञ्चार्जसहित संयोजक भानुभक्त ढकालले समेत समर्थन गर्नुभएको ती सदस्यको भनाई छ । ‘जनसंगठन अध्यक्षलाई केन्द्रीय कमिटी बैठकमा सहभागी गराउनु पर्छ भन्ने प्रस्तावलाई सही ठहर्याउँदै बैठकका अध्यक्ष तथा संयन्त्र संयोजक भानुभक्त ढकाल कमरेडले स्वीकृती जनाउनु भयो भने सवै अध्यक्ष तथा इञ्चार्जहरुले समर्थन गर्नुभएको छ,’ प्रस्तावक रहनुभएका पेशागत महासंघका अध्यक्ष ढकालले भन्नुभयो ।

बैठकमा जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ, अनेरास्वबियुका अध्यक्ष समिक बडाल, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, प्रगतीशील कानुन ब्यवसायी संघका अध्यक्ष भोजराज आचार्य, अखिल नेपाल किसान महासंघ अध्यक्ष डा. प्रेम दंगाल, रिटर्नी फेडेरेशनका अध्यक्ष उत्तम अधिकारी, अखिल नेपाल पिछडा बर्ग महासंघका अध्यक्ष तेजप्र्रसाद निसादले आफ्नो सुझाव राख्नुभएको थियो ।

जनसंगठन अध्यक्षलाई केन्द्रीय कमिटी बैठकमा सहभागी गराउनु पर्छ भन्ने प्रस्तावलाई सही ठहर्याउँदै बैठकका अध्यक्ष तथा संयन्त्र संयोजक भानुभक्त ढकाल कमरेडले स्वीकृती जनाउनु भयो भने सवै अध्यक्ष तथा इञ्चार्जहरुले समर्थन गर्नुभएको छ

यसैगरी नेपाल उद्योग ब्यवसाय महासंघका अध्यक्ष एलपी साँवा लिम्बु, भूतपूर्व सैनिक प्रहरी संगठनका अध्यक्ष बिनोद पाण्डे, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष मनोहर पौडेल बिक, राष्ट्रिय स्वस्थ्यकर्मी महासंघका अध्यक्ष डा. झलक गौतम, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष पाशाङ शेर्पा, राष्ट्रिय जनसाँस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले बैठकमा आफ्नो सुझाव राख्नुभएको थियो ।

यस्तै अध्यक्ष सहभागी हुन नसकेको कारण बैठकमा मानव अधिकार एलाइन्सका महासचिव बिदुर सुवेदी, पिनका महासचिव डा. भेषराज थापा, अनेमसंघकी महासचिव पेम्वा लामा र नेपाल बुद्धिजीवि परिषदका महासचिव गजेन्द्र थपलिया सहभागी भई सुझाव राख्नुभएको थियो । एमाले जनसंगठन समन्वय संयन्त्रमा जनसंगठनका अध्यक्ष, इञ्चार्ज र पार्टीले तोकेको सात प्रदेशका जनसंगठन हेर्ने केन्द्रीय सदस्यहरु सदस्य रहने ब्यवस्था छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा २३ वटा जनसंगठन रहेका छन । एमाले जनसंगठन समन्वय संयन्त्रमा प्रमुख भानुभक्त ढकालसहित पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका सदस्य गरी ५४ सदस्य रहनुभएको छ । संयन्त्रको बैठकमा जनसंगठनहरुको तर्फबाट सो प्रस्तावलाई पार्टी नेतृत्वसामू राखेर अघि बढाउन संयोजक ढकाललाई जिम्मेवारी दिइएको छ ।