जनता टाइम्स

२९ पुष २०८०, आईतवार २०:१८

प्रचण्ड–माधवले आन्दोलनमाथि गद्धारी गरे, आफैँलाई पनि धोका दिए : पृथ्वीसुब्बा गुरुङ


तनहुँ, पुस २९ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टी विभाजित हुँदा देश र जनतालाई नै हानी हुने बताउनुभएको छ ।

नेकपा एमाले शुक्लागण्डकी नगर कमिटी तनहुँले आइतबार बेलचौतारामा आयोजना गरेको समाहित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले हिजो नेकपा विभाजित हुँदा केपी ओली वा माधव नेपालले केही नपाएको गुरुङले बताउनुभयो । बरु देशले राजनीतिक स्थिरता र समृद्धिको बाटो गुमाएको उहाँको भनाइ छ ।

‘ल एमालेले त पाएन पाएन, केपी ओलीले त पाएनन् पाएनन्, माधव नेपालले के पाए ? जनताले के पाए ? देशले के पायो ? सधैँ यस्तो हर्कत किन गर्छन् नेपालका नेताहरू ?’, उहाँले भन्नुभयो ।

उहाँले धेरै दुःख गरेर पार्टी बनायो तर नेताहरूको झगडाले पार्टी फुटाउने कुरा दुर्भाग्यपूर्ण भएको बताउनुभयो । कम्युनिष्ट पार्टीका नेताहरूले गँगटे लडाइँका कारण अघि बढ्न नसकेका उहाँको भनाइ छ । ‘कार्यकर्ताले विवेक प्रयोग गर्नुपर्छ, गँगटे लडाइँ लड्ने नेतालाई सबक सिकाइदिनु पर्छ’, गुरुङले भन्नुभयो ।

एमालेलेका धेरै नेताहरू आफ्नो घर डढाएर खरानीको टीका लगाएर हिँडेका गुरुङले उदाहरण दिनुभयो । ‘आफ्नै घर डढायो, खरानीको टीका लगायो, हिँड्यो, अरूलाई त धोका दिए दिए आफैँलाई पनि धोका दिए, सारा श्रमजीवी जनतालाई दुःख दिए’, प्रचण्ड–माधवप्रति लक्षित गर्दै गुरुङले भन्नुभयो ।

पार्टीका नेता कार्यकर्ताहरू भुसका थैला जस्ता हुनु नहुनेमा गुरुङले जोड दिनुभयो । अब जसले जता लडाइदियो, त्यता लड्नु नहुने उहाँको भनाइ छ । जनताले कहिल्यै पनि कम्युनिष्ट पार्टी नटुटोस् भन्ने चाहेका बताउँदै गुरुङले नेताहरूकै कारण पार्टी फुट्ने गरेको बताउनुभयो ।

गुरुङले आफू सधैँ कम्युनिष्ट पार्टीको एकताको पक्षमा रहेको बताउनुभयो । पहिलो कुरा आफ्नो पार्टी ठुलो बनाउन लाग्नु पर्ने बताउँदै उहाँले आफ्नो मात्र शक्ति नपुग्दा भाइ–भाइ मिल्नु पर्ने बताउनुभयो ।

गुरुङले प्रचण्ड र माधव नेपालले सानो चित्त गर्दा नेकपा विभाजित भएको तथ्य पनि खोल्नुभयो । ‘माओवादीको बुद्धि पुगेन, माधव नेपालको बुद्धि पुगेन, सानो रहेछ दिमाग, नेता ठुलो भएर के गर्नु दिमाग त यत्रो (निकै सानो) रहेछ’, उहाँले भन्नुभयो ।

माधव नेपालले एमालेले विचार वा सिद्धान्त छाडेको कारण नभई केपी ओलीसँग रिस उठेको कारण मात्र पार्टी छाडेको गुरुङले बताउनुभयो । माधव नेपालले जहिले पनि केपी ओलीले दुःख दियो, त्यसैले पार्टी छाँडे भन्ने गरेको बताउँदै उहाँले व्यक्ति विशेषसँग रिस उठ्दैमा पार्टी छाड्ने नेताको विचार र आदर्श कस्तो होला भन्दै प्रश्न गर्नुभयो ।

उपमहासचिव गुरुङले कम्युनिष्ट पार्टीका हरेक नेता कार्यकर्ताले आफ्नो आत्म समीक्षा आफैँले गर्नुपर्ने बताउनुभयो । आफूले कहाँ राम्रो गरेँ ?, कहाँ नराम्रो भयो ? भनेर समीक्षा गर्नुपर्नेमा गुरुङले जोड दिनुभयो ।