जनता टाइम्स

४ आश्विन २०७६, शनिबार ०६:२७

राष्ट्रपति भण्डारीको निश्कर्ष : संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ


काठमाडौं, असोज ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापक जनसहभागितासहित जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, वर्तमान संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको बताउनुभएको छ । संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा शुक्रवार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उहाँले संविधानले मानवअधिकार विधिको शासन, समावेशी लोकतन्त्र, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका स्वतन्त्र प्रेस, शक्तिको पृथकीकरण, सन्तुलन र नियन्त्रण समानता र सामाजिक न्यायजस्ता लोकतन्त्र र प्रगतिशील समाजका मूलभूत आधारलाई आत्मसात् गरेको बताउनुभयो ।

नेपाली जनताको निरन्तर सङ्घर्ष, जनआन्दोलनको परिणमस्वरुप २०७२ सालमा आजकै ऐतिहासिक दिनमा नेपालको संविधान जारी भएको स्मरण गर्दै उहाँले यस पुनित अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गनुभयो । उहाँले भन्नुभयो, “सावैभौम नेपाली जनताले यस दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाइरहँदा गौरवान्दित भएको महसुस गरेको छु ।” विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको पवित्र जन्मस्थल नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रलाई पूर्ण सम्मान गर्दै आएको उल्लेख गर्दै उहाँले विश्वका सबै राष्ट्रसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न तथा सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्न लागिपरेको स्पष्ट पार्नुभयो ।

उहाँले नेपाल असंलग्न आन्दोलनको एउटा संस्थापक मुलुकका साथै सार्क, बिमेस्टकजस्ता क्षेत्रीय सहयोग संगठनहरुको सदस्य राष्ट पनि रहेको स्मरण गर्नुभयो । महिला सशक्तीकरणको क्षेत्रमा नेपालले ठूलो प्रगति हासिल गरेको र नीति निर्माण र निर्णायक तहमा महिलाको महत्वपूर्ण सहभागिता हुन पुगेको तथ्य पेश गर्दै राष्ट्रपतिले संविधानले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहमा स्थापित सरकारबीच शक्तिको बाँडफाँटसमेत स्पष्ट गरेको बताउनुभयो । संविधानले निदृष्ट गरेको समानता, न्यायमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार कटिबद्ध भएर लागेको राष्ट्रपतिको भनाइ थियो ।

स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै मुलुकको सामाजिक, आर्थिक, विकासलाई सम्बोधन गर्न सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई कार्यान्वयन गरिरहेको राष्ट्रपतिले उल्लेख गर्नुभयो । राष्ट्रपतिले हाम्रा राष्ट्रिय स्रोत र मित्र राष्ट्र एवं अन्तर्राष्ट्रिय सङ्घ संस्थाको साझेदारी र सद्भावले हाम्रो विकासको यात्रामा तीव्रता दिने विश्वाससमेत व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपाल एक बहुसांस्कृतिक सम्पदाले सम्पन्न मुलुक हो । विविधतामा एकता, हाम्रै मौलिक शक्ति हो । सामाजिक सद्भाव सहिष्णुता नेपालीका महत्वपूर्ण विशेषता हुन् ।”

राष्ट्रपतिले मुलुकभित्र र विश्वमा रहेका सम्पूर्ण नेपाली, नेपाल र नेपालीप्रति सद्भाव राख्ने राख्ने सबैलाई संविधान दिवसको अवसरमा स्मरण गर्नुभयो । उहाँले लोकतन्त्रको स्थापनाका लागि शहादत प्राप्त गर्नेलाई समेत संविधान दिवसको दिनमा स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, मन्त्रिगण, उद्योगी, व्यवसायी, कलाकार, पत्रकार, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

यस्तै नेपालको विविध कला र संस्कृति समेटिएको गीत तथा नृत्यको समेत आयोजना गरिएको थियो । कार्यक्रममा धार्मिक धुनमा नृत्य, नेपाली फ्यूजन सङ्गीत, सोकला नृत्य, टप्पा, भोजपुरी नृत्य, संविधान गीत, हुडकेली नृत्य, लोक धुन सारङ्गी र झुमरा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।