रुपन्देही, माघ १ । नेपालमै पहिलोपटक विद्युतको मुख्य प्रशारण लाइनमा चारखुट्टे विद्युतीय पोल हटाएर मोनोपोल (सिंगलपोल) राख्ने काम बुटवलमा निर्माण सम्पन्न हुनै लागेको कालिकापथबाट सुरु गरिएको छ । मुख्य सडकको बीचमा रहेको अहिलेको विद्युतको प्रसारण लाइनको सट्टा मोनो पोल राख्ने काम सुरु भएको हो ।
अहिलेको प्रसारण लाइनको पोलले सडकको धेरै भाग ओगटेकोले देख्दा भद्दा र बेलाबेला दुर्घटनाको समेत जोखिम बढेकोले मोनोपोल राख्न लागिएको हो । पोल राखिएपछि कालिकापथ सडक थप आकर्षक र सुरक्षित हुने सडक फराकिलो हुँदा दुर्घटनाको जोखिमसमेत कम हुने बुटवल वडा नं ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताउनु भयो । निर्माण कम्पनीले मोनोपोल बनाउन सुरु गरेसँगै शनिवारदेखि माटो परीक्षणको काम सुरु भएको छ ।
नेपाल विद्युत प्राधिकरण बुटवल योगीकुटी ग्रिडका इन्जिनियरका अनुसार सूर्यप्रसाद पाण्डेका अनुसार हाल रहेका चारवटा विद्युतीय पोल हटाउने काम सुरु भएको छ ।
‘अहिले रहेका पोलले सडकको धेरै क्षेत्रफल ओगटेको छ, जसका कारण सडक समेत साँघुरो भएको छ, कालिकापथ बिस्तार भएसँगै उक्त विद्युतीय पोलका ठाउँमा मोनोपोल निर्माण गरिने छ’, उहाँले भन्नुभयो । प्राधिकरणका बुटवल ग्रिड महाशाखा प्रमुख सुरज गौतमका अनुसार मोनोपल निर्माणले सडक समेत आकर्षक देखिने छ ।
उहाँका अनुसार प्राधिकरणले यसलाई सकेसम्म छिटो हटाएर मोनोपोल राख्ने गरी काम सुरु गरेको छ । नेकपा एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले चुनावताका नै कालिकापथमा रहेका अहिलेका चारखुट्टे विद्युतीय पोल हटाएर मोनोपोल राख्ने वाचा गर्नुभएको थियो । पौडेलको सोही वाचाअनुसार काम थालिएको उहाँका निजी सचिव यम पाण्डेले जानकारी दिनुभयो ।
बुटवलको योगीकुटीबाट मगरघाटसम्म विद्युतीय तार भूमिगत गरिने र कालिकापथमा सडकको धेरै क्षेत्राधिकार ओगटेर निर्माण गरिएका विद्युतीय पोल हटाएर त्यसका ठाउँमा मोनोपल राख्ने एमाले नेता पौडेलले चुनावी प्रतिवद्धतामा राख्नुभएको थियो । पौडेलको प्रतिवद्धता अनुसार अब भने विद्युतीय मोनोपोल राख्ने कामले मूर्त रुप लिन लागेको हो । पहिलो चरणमा यो सडक खण्डको बीचमा रहेका चार वटा पोल हटाएर काम थालिने छ ।
हाम्रो लामो समयको प्रयासपछि बुटवलको कालिकापथको बीचभागमा रहेको भद्दा प्रकृतिको चारखुट्टे हाइटेन्सन पोलको सट्टा मोनोपोल (एकखुट्टे पोल) राख्ने काम सुरु भएको छ
प्राधिकरणका इन्जिनियर सूर्यप्रसाद पाण्डेका अनुसार मुख्य प्रशारण लाइनमा यो अभ्यास पहिलोपटक गर्न लागिएको हो । काठमाडौंमा मोनोपोल राखिएपनि मुख्य प्रशारणमा नभइ सहायक प्रशारण लाइनमा रहेको छ । अहिलेको पोलभन्दा उचाईमा पनि बढी हुने र सडक क्षेत्रमा पनि कम भाग ओगट्ने भएकाले बजार क्षेत्रमा धेरै प्रभावकारी हुने उहाँको भनाइ छ ।
मोनोपल राख्ने काम अघि बढेपछि पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष एवं रुपन्देही २ बाट निर्वाचित सांसद पौडेलले खुसी प्रकट गर्नुभएको छ
‘हाम्रो लामो समयको प्रयासपछि बुटवलको कालिकापथको बीचभागमा रहेको भद्दा प्रकृतिको चारखुट्टे हाइटेन्सन पोलको सट्टा मोनोपोल (एकखुट्टे पोल) राख्ने काम सुरु भएको छ,’ काम अघि बढेपछि पौडेलले भन्नुभएको छ, ‘समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न विद्युत प्राधिकरणलाई र आवश्यक सहयोग तथा सहजिकरणका लागि स्थानीय उपभोक्ताहरूलाई हार्दिक आव्हान गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्