म्याग्दी, माघ २ । चार पाँच वर्ष अघिसम्म गुमनाम जस्तै थियो म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर । पुष माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा मात्रै सीमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउँदैथे । पछिल्लो तीन वर्षयता भने रत्नेचौरको फाँटमा तोरी फुल्ने याममा पर्यटकको घुईंचो नै लाग्न थालेको छ ।
रत्नेचौरको भानु माविका पूर्व प्रधानअध्यापक रहनुभएका स्थानीयवासी टीकाबहादुर महत रत्नेचौर ‘भाइरल’ बन्नुको कारण सडक कालोपत्र हुनु, सामाजिक सञ्जाल र आम सञ्चार माध्यम भएको बताउनु हुन्छ । ‘रत्नेचौरमा यसअघि पनि तोरी खेती हुन्थ्यो र फुल्थ्यो तर यसरी पर्यटक आउँदैनथे,’ महतले भन्नुभयो, ‘रत्नेचौरको फाँटको बिचमा रहेको सडक विसं २०७७ मा कालोपत्र भयो । पहिला प्रवर्धन गर्ने प्रविधि थिएन। सबैको हातमा प्रविधिको पहुँच पुगेकाले रत्नेचौर जस्ता ओझेलमा परेका सुन्दर ठाउँ चिनिएका छन् ।’
समथर फाँट र बस्ती रहेको रत्नेचौरको पृष्ठभूमिमा धौलागिरि हिमाललाई अवलोकन गर्न सकिन्छ । कालोपत्र सडकको दायाँ र बायाँका फाँटमा पहेँलपुर फुुलेको तोरीबारीको पृष्ठभूमिमा हिमाल हेर्न पाउनु रत्नेचौरको विशेषता हो । सामाजिक सञ्जालमा देखेको दृष्य र तस्बिरबाट लोभिएर रत्नेचौर घुम्न आएको पोखराकी जेनिसा पुनले बताउनुभयो ।
‘तोरीबारीमा फोटो खिच्ने र भिडियो बनाउनकै लागि पोखराबाट साथी मिलेर आएका हौँ,’ उहाँले भन्नुुभयो ‘एकै ठाउँबाट तोरीबारी र हिमाल हेर्न सकिने यहाँको विशेषता रहेछ ।’ बेनी र बागलुङ बजारदेखि १५–१५ मिनेटको सवारी यात्रापछि पुगिने रत्नेचौर घुुम्न बालबालिका, युुवा युवतीदेखि पाका उमेरका पनि आउँछन् । दैनिक दुुई सयदेखि पाँच सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका रत्नेचौरका कुशल शर्माले बताउनुभयो ।
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा तोरी खेतीको पहेँलाम्मे र गहुँ खेतीको हरियालीको मनमोहक दृष्य । रत्नेचौरको यो दृश्य हेर्न र कैद गर्न आन्तरिक पर्यटक आउन थालेका छन् । तस्बिर : सन्तोष गौतम
‘बिदाको दिन तोरीबारी हेर्न आउनेको घुुइँचोनै लाग्छ,’ उहाँले भन्नुभयो, ‘अन्य समयमा पनि पर्यटक निरन्तर आइरहेका छन् ।’ म्याग्दी, बागलुङ, पर्वत र कास्कीका साथै मुस्ताङ जाने र फर्कने पर्यटक रत्नेचौरको तोरीबारीको सौन्दर्यमा रमाउँछन् । पर्यटकको चहलपहलसँगै व्यापार व्यवसायको अवसर सिर्जना भएको पत्रकार सन्तोष गौतमले जनाउनु भएको छ ।
रत्नेचौरको फेदी भुवानेमा दुई वटा होटल र रेष्टुरेन्ट खुलेका छन् । रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले रत्नेचौर घुम्नेका लागि नयाँ आकर्षण थपिएको छ । परम्परागत रुपमा हुँदै आएको तोरीखेती पर्यटकको आकर्षण बनेपछि यसलाई व्यावसायिक र पर्यटन आकर्षणको रूपमा विकास गर्न योजना बनाइएको बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापा बताउनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्