जनता टाइम्स

३ माघ २०८०, बुधबार १९:५२

संविधान दिवसको दिन राष्ट्रपतिबाट कैद मिनाह पाएर छुटेका ब्यक्ति चोरी आरोपमा फेरि पक्राउ


ललितपुर, माघ ३ । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दिन कैद सजाय मिनाहा पाएर छुटेका व्यक्ति चोरी आरोपमा फेरि पक्राउ परेका छन ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकै असल चालचलन रहेको भन्दै मन्त्रिपरिषदबाट कैद मिनाहको निर्णयसहित सिफारिश गरेपछि गत संबिधान दिवसको अवसरमा छुटेका ब्यक्ति नै आधा दर्जन बढी चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन ।

यसरी प्रचण्ड सरकारको सिफारिशमा राष्ट्रपति पौडेलबाट कैद मिनाह पाएर छुटेका दोलखा घर भई भक्तपुरको निकोसेरा बस्ने रघुनाथ बस्नेतलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो । ललितपुर प्रहरीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाल बस्नेतलाई भक्तपुरबाट पक्राउ गरिएको हो ।

बस्नेतले ललितपुरका विभिन्न ठाउँमा चोरी गरेको खनालको भनाई छ । बस्नेतमाथि कात्तिक १५ गते सानेपाका तोपबहादुर थापाको घरमा बस्ने जर्मन नागरिक ड्यानिक फुच्सको कोठाबाट तीन वटा ल्यापटप, एउटा क्यामेरा र ४७ हजार नगद चोरी गरेको आरोप छ ।

प्रहरीका अनुसार भनिमण्डलस्थित उषा श्रेष्ठको घरमा बसेका नर्वेजियन नागरिक जेन्रिक सब्स टड्सरडको ३० हजार नगद र कपडाहरू चोरी भएको थियो । यसैगरी, मंसिर १७ गते ललितपुर–२ सानेपामा डेरामा बस्ने सुप्रिया राईको कोठाबाट २० तोला सुनका गहना र ६३ तोला चाँदीका गहना चोरी भएको थियो ।

ललितपुर महानगरपालिका–३ झम्सिखेल बस्ने ठाकुरनाथ ढकालको घरमा चोरी गरेको आरोप पनि बस्नेतमाथि छ । यस्तै ठाकुरनाथको घरबाट पुस १ गते राति कोही नभएको बेला करिब २७ तोला सुनका गरगहना, करिब १५ तोला चाँदीका गहना, ३० हजार रुपैयाँ र ८२५ अमेरिकी डलर समेत चोरी गरेको आरोप बस्नेतमाथि रहेको छ ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी खनालका अनुसार चोरी गर्नुअघि बस्नेतले ठाउँको रेकी गर्ने गरेका थिए । खनालका अनुसार चोरी गर्न जाने दिन बस्नेतले छुट्टै एक जोर कपडा समेत बोक्ने गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ नपरियोस भनेर बस्नेतले चोरी गर्न जानुअघि एउटा कपडा लगाएर घरभित्र पसेपछि चोरी गरिसकेर त्यहाँबाट निस्किँदा अर्कै कपडा लगाएर फर्किने गरेको एसएसपी खनालले जानकारी दिनुभयो ।

बस्नेत चोरी गर्न जानेबेलामा साइकल चढ्थे भने फर्कदा बाटोमै छाडेर जाने गरेका थिए । पक्राउ पर्नबाट जोगिन बस्नेतले यस्तो जुक्ति लगाउने गरेको एसएसपी खनालले बताउनु भयो। खनालका अनुसार बस्नेत आपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन । जसले गर्दा आफू पक्राउ पर्न सक्ने आधारहरूबारे जानकार रहेको देखिन्छ ।

बस्नेतले गर्ने कतिपय गतिविधिहरू प्रहरीको अनुसन्धान समेतलाई अलमलमा पार्ने खालका देखिएको एसएसपी खनालको भनाई छ । चोरी मुद्दामा मात्रै बस्नेत ९ पटक पक्राउ परिसकेका छन । बस्नेतविरूद्ध अभद्र व्यवहार कसुरमा पनि तीन पटकसहित १२ पटक मुद्दा चलिसकेको छ।

विभिन्न कसुरमा बस्नेतलाई १२ वर्ष कैद सजाय भएको थियो । पछिल्लो पटक २०७७ सालमा दोलखाबाट चोरी कसुरमा बस्नेतमाथि मुद्दा चलेको थियो । बस्नेत गत संविधान दिवसमा कैद सजाय मिनाहा पाएर छुटेका हुन । प्रहरीका अनुसार जेलबाट छुटेर पनि बस्नेतले पुनः चोरीको काम थालेका थिए । धेरैतिर चोरी गरिसकेपछि प्रहरीले बिशेष अभियान चलाएर पक्राउ गरेको हो ।