जनता टाइम्स

३ माघ २०८०, बुधबार २०:०८

फागुनमा केपी ओली कप फुटबल हुने


काठमाडौं, ३ पुस । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष केपी ओलीको नाममा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै संघले केपी ओली कप–२०८० आगामी फागुन ११ गतेबाट सुरु हुने जनाएको हो । एक साता चल्ने प्रतियोगिताको फाइनल फागुन १९ गते हुने संघ अध्यक्ष क्षितिज थेवेले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगिताको फाइनल बाहेकका खेलहरु अखिल नेपाल फुटबल संघ (एन्फा) टेक्निकल सेन्टर च्यासलमा हुनेछ। फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तालिका तय भएको छ । संघ अध्यक्ष थेवेले खेल र मनोरञ्जनको माध्यमबाट मात्रै युवाहरूलाई एकमुष्ट रुपमा सकारात्मक सन्देश दिन सकिने भएकाले फुटबल प्रतियोगिताको सुरुवात गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘खेल र मनोरञ्जनको माध्यमबाट मात्रै हामीले युवाहरुलाई एकमुष्ट रुपमा सकारात्मक सन्देश दिन सक्छौ र राजनीतिमा युवाहरुलाई अगाडि बढाउन सक्छौ भनेर हामीले फुटबल रोजेका हौं ।’ यस्तै, उहाँले केपी ओली कप सम्पन्न नभएसम्मका लागि पार्टीको झण्डा र भाषणलाई विश्राम दिने पनि बताउनुभयो ।

उहाँले थप्नुभयो,‘हामीले केपी ओली कप सम्पन्न नभएसम्मको लागि हाम्रो झण्डा र भाषण विश्राम गर्छौ। यसबाट हामीले नेपालको राजनीति र राष्ट्रि युवा संगठन नेपालले खेललाई हेर्ने दृष्टिकोण स्पष्ट छ भन्न खोजेको हो । खेल क्षेत्रको विकासको लागि पनि हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं। एन्फाले तोकेको मितिमा नै हामीले यसलाई सम्पन्न गर्न लागेका हौं । प्रतियोगितामा कुनै पनि पार्टीको झण्डा प्रयोग गर्ने छैनौ ।’

पत्रकार सम्मेलनमा एमाले नेता महेश बस्नेतले खेलाडीहरु बेरोजगारीका कारणले विदेश जानुपर्ने अवस्था भएको भन्दै खेलकुद विश्वविद्यालय बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पहलमा खेललाई प्रवद्र्धन गर्ने कामहरु अगाडि बढाएका छौं । यस्तो प्रतियोगिताहरुले खेल जगतमा निकै ठूलो उत्साह र प्रोत्साहन दिन सकिन्छ । आज खेलाडीहरु बेरोजगारीका कारणले विदेश जानुपर्ने अवस्था छ । खेलकुद विश्वविद्यालय बनाएर नेपाली खेलाडीहरुमार्फत संसारमा नेपालको नाम राख्ने कुरामा हामी अगाडि बढ्नु पर्छ ।’

प्रतियोगितामा नेपालका ’ए डिभिजन’ तथा विदेशी टीमलाई समेत सहभागी गराइने जनाइएको छ । प्रतियोगितामा विजेताका लागि ट्रफी र पदकसँगै ११ लाख रुपैयाँ नगद पुरस्कार छ भने उपविजेता टिमले ५ लाख नगद पाउने छ । त्यस्तै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, उत्कृष्ट गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई ५० हजार, म्यान अफ द म्याचलाई १५ हजार नगद पाउने छन् । त्यस्तै हरेक खेलका विजेता टीमलाई २५ हजार नगद प्रदान गरिने छ ।