जनता टाइम्स

४ आश्विन २०७६, शनिबार १४:२८

राष्ट्रपति उपस्थित सभामा देउवाले मर्यादा भुलेपछि..


काठमाडौं, असोज ४ । राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो मर्यादा भुलेपछि राष्ट्रपतिले कडा सवक सिकाउनु भएको छ । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले राष्ट्रपतितिर हेर्दै सरकारविरुद्ध कडा आक्रोश पोखेपछि उहाँले सवक सिकाउनु भएको हो ।

देउवाले नेपाल प्रहरीमाथि कडा प्रहार गर्दै सरकारबिरुद्ध आक्रोश पोख्नुभएको थियो । देउवाको आक्रोशलाई मसिनो गरी सुन्नुभएकी राष्ट्रपति भण्डारीले संबिधानअनुसारको जवाफ फर्काएर सवक सिकाउनु भयो । उहाँले शालिन भाषामा हसिमजाक सहित यता मञ्चतिर त तपाईहरुले बोलेको केही सुनिएन, बुझिएन भन्दै संबैधानिक राष्ट्रपतिको भुमिका निर्वाह गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेताहरुले बोलेको कुरामा हलबाट ताली आएपनि आफूले नबुझेको भन्दै व्यंग्य गर्नुभयो ।

‘यो मञ्चमा वक्ताले बोलेको केही नबुझिने रहेछ, नेताहरूले जोसले बोल्नुभयो, ताली पनि बज्यो, के बोल्नुभयो भन्ने बुझिएन । कान राम्रो सुनिएन कि ?,’ राष्ट्रप्रमुख उपस्थित कार्यक्रममा चर्काे आक्रोश पोखेपछि उहाँको भनाई थियो, ‘अब मिडियाबाट थाहा पाइएला ।’ त्यसअघि देउवाले प्रतिपक्षसँग छलफलै नगरी संविधानविपरीतका प्रावधान राखेर विधेयकहरू ल्याएको र नेपाल प्रहरीलाई नेकपाकरण गरेको भन्दै आक्रोश पोख्नुभएको थियो ।

पार्टीको प्रशिक्षणमा जसरी राष्ट्रप्रमुख उपस्थित कार्यक्रममा देउवा प्रस्तुत हुनुभएपछि आफ्नो मर्यादाभित्र रहेर राष्ट्रपति भण्डारीले संबैधानिक राष्ट्रपतिले कार्यकारी भुमिका निर्वाह गर्दैन, त्यस्तो कुरा सुन्दैन भन्ने अर्थमा मञ्चमा केही सुनिएन भन्नुभएको थियो । यसअघि देउवाले सरकारमातहत राख्ने गरी मानव अधिकार आयोगसम्बन्धी विधेयक ल्याइएको भन्दै आक्रोश पोख्नुभयो । ‘हामीले रेलिङ भाँचेका छैनौं, संसद्मा कुर्सी तोडफोड गरेका छैनौं भनेर हामीलाई हेप्ने ?’ बोल्न नपाउने गरी मिडिया काउन्सिल विधेयक ल्याएर सरकारले जनताको स्वतन्त्रता खोस्न खोजेको छ । संविधानको मर्म्विपरीत सरकारले ल्याएका विधेयक हामी स्वीकार गर्दैनौं,’ देउवाको भनाई थियो ।

प्रतिष्ठानले संविधान निर्माणको नेतृत्व लिएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त गणेशमान सिंह जनआन्दोलन स्वर्णपदक प्रदान गरिएको थियो । सोही पदक बितरणका लागि प्रमुख अतिथिका रुपमा जानुभएकी राष्ट्रपति भण्डारीलाई लामो समय कार्यक्रममा राखेर राजनीतिक भाषण पिलाइएपछि राष्ट्रप्रमुख आउने कार्यक्रममा राजनीतिक होइन, मर्यादित भाषण हुनुपर्ने संकेत गर्दै राष्ट्रप्रमुखले बिपक्षी दलका नेतालाई सवक सिकाउने काम भएको हो । मुसुमुसु हाँस्दै राष्ट्रपति भण्डारीले देउवालाई सवक सिकाएपछि हल नै हाँसोले गुञ्जयमान भएको थियो ।