जनता टाइम्स

६ माघ २०८०, शनिबार १४:४०

हर्क सम्पाङले कर्मचारी पठाएर खोल्न लगाए बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ताला


धरान, माघ ६ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लगाउनु भएको ताला खुलेको छ । अदालतको आदेशपछि मेयर साम्पाङ आफैले ताला खोल्न लगाउनु भएको हो ।

उहाँले प्रतिष्ठानस्थित उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेपछि उच्च अदालत विराटनगरको आदेशमा खोलिएको हो । उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न/नगराउन आदेश जारी गरेपछि उपकुलपतिको कार्यकक्षमा गरेको तालाबन्दी शुक्रबार नै खुलेको हो ।

उपकुलपतिको कार्यकक्षमा नगरप्रमुख साम्पाङले तालाबन्दी गरेपछि परेको रिटमाथि सुनवाइ गर्दै उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो । अदालतको आदेशपछि नगरप्रमुख साम्पाङले ताला खोल्न सचिवालयका कर्मचारी सुदर्शन लिम्बूलाई पठाउनुभएको थियो ।

रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका नगरप्रमुख साम्पाङसहित नौ विपक्षीका नाममा अदालतले अन्तरिम आदेशसहित कारण देखाऊ आदेश जारी गरेको छ ।

सञ्जीवकुमार साहद्वारा उत्प्रेषणयुक्त परमादेश माग गर्दै दायर रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरीसमेत नौ विपक्षीविरुद्ध उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।