काठमाडौं, माघ ६ । सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका नाममा आएको सहयोग हिनामिना गरेको तथ्य उजागर भएको छ । माओवादीकै एक नेताले यो तथ्य खोलेका हुन ।
माओवादी केन्द्रकै वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसी (सन्देश) का अनुसार महासचिव गुरुङले कर्णालीका भूकम्प पीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्री हिनामिना गर्नुभएको हो । महासचिव गुरुङले पार्टी र राज्य शक्तिको दुरुपयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्रीमा अनियमितता गरेको केसीले लिति जानकारी दिनुभएको छ ।
रुकुम पश्चिमका केसीले आफूले यही बिषय उठान गर्दा स्पष्टिकरण सोधिएको भन्दै प्रदेश अध्यक्ष र महासचिव गुरुङमाथि कार्वाहीको माग गर्नुभएको छ । गत २८ पुसमा बसेको पार्टी स्थायी समिति बैठकले राहत लिएर पुगेकी चिनियाँ अधिकारीमाथि हातपात भएको घटनामा केसीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टीले सोधेको स्पष्टीकरणको शुक्रवार अर्थात माघ ५ गते जवाफ लेख्दै केसीले महासचिव गुरुङमाथि अनियमितताको आरोप लगाउँदै छानबिनको माग गर्नुभएको छ ।
‘मुक्ति मरासिनी देव गुरुङको सहोदर भदैनीको लोग्ने भएको र यी एकाघरका नातेदार रहेको तथा देव गुरुङले नै भनसुन गरी चिनियाँहरूको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा यी दुवै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गरो,’, केसीले पार्टीलाई लेखेको स्पष्टीकरणमा भन्नुभएको छ ।
जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई वितरणका लागि राहत सामग्री लिएर पुगेको चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि गत मंसिर २० गते जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको थियो । भूकम्प गएको तीन दिनपछि माओवादी केन्द्रका महासचिव गुरुङ चिनियाँ संस्थाकी निर्देशक सोउ नेतृत्वको टोलीसँगै राहत सामग्री लिएर जाजरकोट र रुकुमपश्चिम पुग्नुभएको थियो ।
ललितपुरको बखुण्डोलमा कार्यालय रहेको ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले राहत सामग्रीका लागि प्रत्यक्ष सहयोग गरेको हो । केसीले महासचिव गुरुङका नातेदार भनेर दावी गरेका मरासिनीको ‘ग्लोबल कोअपरेसन फर डेभलपमेन्ट’ नामक संस्थाले उक्त राहत सामग्री वितरणको जिम्मा पाएको छ । उक्त राहत सामग्री जाजरकोटको भेरी नगरपालिका– १ रिम्नास्थित केसीकै घरमा थन्क्याइएको थियो ।
हातपातको घटनामा चिनियाँ टोलीले अमर खत्री, मुकेश रावल र गोर्ख बहादुर केसीविरुद्ध उजुरी दिएको थियो । उनीहरुमध्ये अमर खत्रीलाई जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा छाड्न आदेश दियो भने रावल र माओवादी नेता केसी अहिलेसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नताको आरोप लागेका माओवादी केन्द्रका नेता केसीले चिनियाँ महिलाले आफ्नो विषयमा अनर्गल भाषणबाजी गरेपछि आफ्नो निर्माण कम्पनीमा कार्यरत भान्से अमर खत्रीले हातपात गरेको स्वीकार गर्नुभएको छ । केसीले उक्त कुटपिटको घटना आकस्मिक भएको भन्दै कारबाही नगरी नहुने लागेको भए अरू नै उपाय रोज्न महासचिव गुरुङ र माओवादीकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीलाई सुझाव दिनुभएको छ ।
रुकुम पश्चिमको आठबिसकोटका लागि भनेर छुट्याएको राहत पनि गुरुङ र प्रदेश अध्यक्ष केसीको मिलेमतोमा जाजरकोटको नलगाड गाउँपालिका र रुकुमकै सानीभेरी गाउँपालिका पठाइएको, तर भर्पाइ भने आठबिसकोटकै बनाएको उहाँले बताउनु भएको छ । यस विषयमा पार्टीमा कुरा उठाउँदा महासचिव गुरुङ र प्रदेश इन्चार्ज मातृका यादवले बिमला केसीले सार्वजनिक माफी मागिसकेको र यसलाई सार्वजनिक नगर्न भनेको विषय पनि जवाफमा केसीले लेख्नुभएको छ

‘महासचिव कमरेड र बिमलालाई मलाई कारवाही नगरी नहुने भन्ने लागेको छ भने अरू नै उपाय खोज्नु’, केसीको भनाई छ । केसीले जवाफमा घटनाको पृष्ठभूमिबारे पनि विस्तृतमा उल्लेख गर्नुभएको छ ।
‘अरू पार्टीले मजाले खाएका छन, खान जानेका छन् । तपाईंहरू खान नजानेर यत्रो सानो पार्टी भएको छ । खानुपर्छ कमरेड, हामीलाई कसैको भर्पाइ दिनुस्, समान बुझेर लानुस् र मजाले खानुस । उनले निस्फिक्री कसरी खान र लुट्न सकिन्छ भनेर प्रशिक्षण चलाउन थाले’, केसीले भन्नुभएको छ, ‘मेरा आस्थाका धरोहर महासचिव कमरेडले त्यो मरासिनीलाई मज्जाले हप्काउलान भनेको त मख्ख परेर सुनेका छन । मैले यस्तो नांगो लुटपाटको सल्लाह कहिल्यै देखेको सुनेको थिइनँ । महासचिव कमरेड त्यो रात सम्झिनुस । मातृका (यादव) दाइ अर्कै कोठामा हुनुहुन्थ्यो । मलाई लाग्छ उहाँ त्यहीँ भएको भए मरासिनीको सातो जान्थ्यो ।’
केसीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम किटानी गरेर जानकारी दिएको भन्दै सो अनुसार ५० लाख युआनको सहयोग नेपाली रुपैयाँ ९ करोड २० लाख बराबरको हुने र त्यसलाई चारवटा राजनीतिक दलबीच भागबण्डा गर्दा प्रतिपरिवार चालिस हजार रुपैयाँको प्याकेज हुनुपर्नेमा १० हजार मूल्य बराबरको राहत पनि नपुगेको उल्लेख गर्नुभएको छ । महासचिव गुरुङले सोही दिन बिहान त्यसबाट पनि घटाएर २३ हजारको प्याकेज हुने बताएको उहाँको भनाइ छ ।
साथै, रुकुम पश्चिमको आठबिसकोटका लागि भनेर छुट्याएको राहत पनि गुरुङ र प्रदेश अध्यक्ष केसीको मिलेमतोमा जाजरकोटको नलगाड गाउँपालिका र रुकुमकै सानीभेरी गाउँपालिका पठाइएको, तर भर्पाइ भने आठबिसकोटकै बनाएको उहाँले बताउनु भएको छ । यस विषयमा पार्टीमा कुरा उठाउँदा महासचिव गुरुङ र प्रदेश इन्चार्ज मातृका यादवले बिमला केसीले सार्वजनिक माफी मागिसकेको र यसलाई सार्वजनिक नगर्न भनेको विषय पनि जवाफमा केसीले लेख्नुभएको छ ।
यस विषयमा कुरा उठाएपछि आफ्नो घरमा बास बस्न आएका गुरुङ साझमा बास नबसी हिँडेको विवरण समेत केसीले स्पष्टीकरणमा उल्लेख गर्नुभएको छ । ‘मेरो पार्टीको अध्यक्ष र स्थायी कमिटीले राम्ररी विचार गरोस्, मलाई कारवाही गर्ने हो कि यी नैतिक हराम महासचिव र जनताको नासो बीच बाटोमा लुट्ने प्रदेश अध्यक्ष जस्तालाई ?’, केसीको प्रश्न छ, ‘यो पार्टी चोरको चौतारी हो ? साधुलाई सुली हो ?’
यस्तो छ तथ्य













प्रतिक्रिया दिनुहोस्