जनता टाइम्स

७ माघ २०८०, आईतवार ०८:२०

भारतीय टीभी च्यानल गरिरहेछ सगरमाथा भारतको भन्दै झुटो प्रचार


काठमाडौं, माघ ७ । छिमेकी मुलुक भारतको एक टेलिभिजन च्यानलले आफेनो टीभि सिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर आापत्तिजनक एवं गलत प्रचार प्रसार गरेको छ ।

भारतको चर्चित टेलिभिजन जी टिभीले प्रसारण गर्दैआएको ‘कैसे मुझे तुम मिल गए’ नामक टेलिसिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर प्रचार गरिएको हो । सो टिभी सिरियलको हालै प्रकाशित नयाँ एपिसोडमा नेपालको सगरमाथालाई भारतको भनेर प्रस्तुत गरिएको छ ।

सिरियलको सो एपिसोडमा टेलिसिरियलमा एक पुराना कलाकारले अर्को एक कलाकारलाई सामान्य ज्ञानको प्रश्नोत्तरका क्रममा ‘भारतको सबैभन्दा उच्च पहाडको चुचुरोको नाम के हो ?’ भनेर सोध्छिन । त्यसपछि ती पुरुष कलाकारले ‘माउण्ट एभरेष्ट’ भनेर उत्तर दिन्छन । अनि सिरियलको सो दृश्यमा उपस्थित अन्य कलाकारले ताली बजाउँछन ।

सो सिरियलको उक्त भागको युट्युब भर्सनमा हेर्न दर्शकमध्ये धेरैले सगरमाथा नेपालमा रहेको जिकिर गरिरहेका छन् । कतिपयले स्क्रिप्ट लेख्नेले गलत लेख्यो भनेर सच्याउन माग गरिरहेका छन् । कतिपयले नेपाल सरकारको ध्यानाकर्षण पनि गराएका छन् । धेरैले टीभि च्यानललाई गल्ती स्वीकार गरी माफी माग्न भनेका छन ।