काठमाडौं, माघ ७ । संघीय संसदको महासचिव नियुक्त गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र पठाएर ताकेता गर्नुभएको छ ।
गत मंसिर २४ गतेदेखि लागू हुने गरी महासचिवबाट भरतराज गौतमले राजीनामा दिए पनि रिक्त महासचिव पदमा सिफारिशअनुसार अझै नियुक्त नगरेपछि सभामुख र अध्यक्षले राष्ट्रपतिलाई स्मरणपत्र पठाउनु भएको हो ।
महासचिव सिफारिस गरेको लामो समयसम्म पनि राष्ट्रपति कार्यालयले नियुक्ति अघि नबढाएकोमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले शुक्रबार राष्ट्रपति कार्यालयमा स्मरण पत्र पठाउनु भएको हो । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार पत्रमा राष्ट्रपतिको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
महासचिव सिफारिस गरेको एक महिनाभन्दा बढी समय भइसक्दा पनि राष्ट्रपति पौडेलले रोके राख्नुभएको छ । सोही बिषयमा स्मरण गर्दै पत्रमा भनिएको छ, ‘सिफारिस गरेको एक महिनाभन्दा बढी भइसक्यो, महासचिव नियुक्त नहुँदा संघीय संसदका कामकारबाहीमा पनि समस्या आइरहेका छन । महासचिव छिटो नियुक्तिका लागि स्मरण गराइएको छ ।’
स्मरण पत्र पठाउनुअघि सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरसँग छलफल गर्नुभएको थियो । कुँवरले महासचिवमा पुनः अर्काे ब्यक्तिको नाम सिफारिस हुनुपर्ने राष्ट्रपति पौडेलको अडान रहेको जानकारी दिनुभएको थियो । तर सभामुख र राष्ट्रिय सभा अध्यक्षले त्यसो गर्न अस्वीकार गर्नुभएको छ ।
सभामुख घिमिरेले आइतबार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँग गरेको छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै संसदको महासचिव नियुक्तिमा आफूले गर्नुपर्ने सिफारिस गरिसकेको बताउनु भयो । ‘महासचिव नियुक्त गर्न आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको छु,’ घिमिरेले भन्नुभयो, ‘टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी छु ।’
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिव बनाउन सिफारिस गर्नुभएको छ । तर राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया अघि बढाएको छैन ।
राष्ट्रपति कार्यालयले गौतमले पदबाट दिएको राजीनामा स्वीकृत नहुँदै सभामुख र राष्ट्रिय सभा अध्यक्षले पाण्डेयलाई महासचिवमा सिफारिस गरेकोले ’मिति नमिलेको’ भन्ने तर्क गर्दै आइरहेको छ । राष्ट्रपति पौडेलले अनावश्यक र अतिरिक्त सक्रियता देखाएर महासचिव नियुक्ति प्रक्रिया राक्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्