काठमाडौं, माघ ८ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी योजना निर्माण हुने अपेक्षा नै गर्न नसकिने निश्कर्ष सुनाउनु भएको छ ।
योजना आयोगका पदाधिकारी मुलुकको यथार्थभन्दा अर्कै बाटोमा हिडेको तथ्य राख्दै पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष पौडेलले सञ्चारकर्मीसँगको संवादमा यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने, विगतका अनुभवहरूको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्ने अवस्था नदेखिएको निश्कर्ष पनि सुनाउनु भयो । आयोगले अघिल्लो सरकारले बनाएको १५औं योजनालाई उपेक्षा गर्नेगरी योजना निर्माण गरिरहेको आरोपसमेत लगाउनु भयो।
पौडेलले आयोग १६औं योजनाको निर्माणमा अलमलिरहेको र १६ औं योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरु र तिनले दिएका अनुभवहरूको जगमा उभिएर वर्तमान र दीर्घकालीन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा नलागेको बताउनु भयो । पौडेलका अनुसार राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको १५औं योजना धेरै दृष्टिकोणले महत्वपूर्ण रहेको पौडलको भनाई छ । १५ औं योजनाले नेपालको योजनावद्ध विकासमा डिपाचर हुने गरी नयाँ दिशाबोध दिएर विकासका परम्परागत अभ्यासहरूलाई ब्रेक थ्रु गरेको पौडेलले बताउनु भयो ।
‘अहिलेको सरकारले १६ औं योजना निर्माण गरिरहँदा १५औं योजनाले संस्थागत गरेका निस्कर्षहरुलाई आत्मासाथ गर्ने, आवश्यक विषयलाई निरन्तरता दिने र नयाँ योजना भए सम्बोधन गरी जानुपर्ने हो तर १५ औं योजनाहरूलाई तिरस्कार गर्दै बिर्सन र कुल्चिएर उपेक्षा गर्न चाहेको छ । त्यसका सकारात्मक योगदानहरुलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको छ,’ पौडेलले भन्नुभयो, ‘१५ औं योजनाले विकासका सन्दर्भमा जस्ता खालको अभ्यास गरिए रहेको थियो त्यसलाई अहिलको योजना आयोगले रोक्यो । विशेष गरी राष्ट्रिय दीर्घकालीन र आवधिक लक्ष्य निश्चित गरेर संविधान निर्माण गरिसकेपछि देशको आर्थिक समाजिक रुपान्तरण मुद्दा मुख्य हो भन्ने कुरा आएपछि संविधानको मर्म अनुरुपको १५ औं योजना निर्माण भएको थियो । त्यसले समृद्ध नेपाल सुखी नेपाली दीर्घकालिन लक्ष्य निर्धारण गर्यो ।’
उहाँले योजना आयोग १५औं योजनालाई अस्वीकार गर्ने तर अहिलेको अवस्थाअनुसार नयाँ योजना दिन पनि नसक्ने दुविधामा रहेको पनि बताउनु भयो । यस्तै उहाँले समृद्धि नेपाल सुखी नेपालीको नारा एमालेको सरकारले ल्याएपनि समग्र नेपालीको साझा नारा भएको भन्दै सरकार त्यस्मा चुकिरहेको बताउनु भयो । अहिलेको सरकार र योजना आयोग समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई करेक्सन गर्न चाहेको पौडेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्