रामेछाप, माघ ९ । रामेछापको मन्थली नगरपालिका नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमको लागि छनोट भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको श्रोत परिचालन शाखाले मन्थली नगरपालिका सहित देशका विभिन्न स्थानीय तहहरू सो कार्यक्रमको लागि छनोटमा परेका जनाउको छ । समन्वय शाखाले सूचना प्रकाशित गरी कार्यक्रमका लागि ती स्थानीय तह छनोटमा परेका जानकारी दिएको छ ।
रामेछापमा दुई नगरपालिका सहित आठवटा स्थानीय तह छन् । आठ वटा स्थानीय तहमध्ये मन्थली नगरपालिका मात्रै सो कार्यक्रमको लागि छनोट भएको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालनका लागि स्थानीय तहहरूसँग समन्वय शाखाले आवेदन आह्वान गरेको थियो । आवेदन दिने मध्ये तोकिएको योग्यता र आधार पुगेको स्थानीय तह कार्यक्रम सञ्चालनको लागि छनोट भएका छन् ।
सो कार्यक्रम अन्तर्गत नवप्रवर्तनमा आधारित स्थानीय उत्पादन, उद्यमशीलता विकास र रोजगारी वृद्धिका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने कार्यक्रम सञ्चालन हुने छन् । जसको लागि स्थानीय तहले एक करोड रुपैँया अनुदान पाउने छन् ।
जसबाट स्थानीय आर्थिक विकासको पूर्वाधार निर्माण, आर्थिक सशक्तीकरण तथा व्यवसाय विकास, सिप विकास तालिम, उद्यमशीलता विकास तथा औद्योगिक प्रवर्धन र विशिष्टीकृत बस्तु उत्पादन तथा बजारीकरणका कार्यक्रम सञ्चालन गर्न सकिने श्रेष्ठले जानकारी दिनुभयो ।
यो कार्यक्रमका लागि छनोट भएसँगै प्रमुख लवकुमार श्रेष्ठ र उपप्रमुख इश्वरी बस्नेतको उत्कृट कामको परिणाम आएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्