जनता टाइम्स

११ माघ २०८०, बिहीबार १२:५७

मुगुमा भाइरल ज्वरोले तीनजनाको मृत्यु


मुगु, ११ माघ । मुगुको सोरु गाउँपालिका वडा नं ६ पुरुमुरुका सल ढोलीकी २४ वर्षीया बुहारी कुसुम ढोलीको भाइरल ज्वरोका कारण मृत्यु भएको छ । रुघाखोकी, भाइरल ज्वरोका कारण अहिले ससुरा सल ढोली पनि ओछ्यानमै हुनुहुन्छ । उहाँलाई पनि आङ, जिउ दुख्ने, हातगोडा दुख्ने समस्याले ग्रसित हुनुहुन्छ ।

मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा करिब एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा बिरामी रहेका छन् । भाइरल ज्वरोबाट बालबालिका र बृद्धबृद्धा धेरै प्रभावित बनेका छन् । सोरु गाउँपालिकामा अहिले भाइलको प्रकोप बढिरहेको छ भने पालिकाका सबै वडाहरुमा अधिकांश मानिसहरु भाइरल ज्वरोबाट प्रभावित बनेका छन् ।

ज्वरोको प्रकोप बढ्दै जाँदा बिरामीहरुले उचित प्रकारको औषधिसमेत पाउन सकेका छैनन् । भाइरल ज्वरो बढ्दै गएपछि यहाँ औषधि अभाव रहेको बताइएको छ । भाइरल ज्वरोका कारण वडा नम्बर १ पुरुमुरुका ७० बर्षीया कृति छत्याल र ७० वर्षभन्दा माथिका हरिबहादुर शाही र २४ बर्षीया कुसुम ढोलीको मृत्यू भएको हो । ज्वरोले सबै भन्दा बढी पुरुमुरु गाउँ प्रभावित बनेको छ ।

बिरामीहरु नजिकैको सोरुका स्वास्थ्य चौकिहरुमा आधारभूत उपचार केन्द्रमा उपचार गराइरहेको सोरु गाउपालिका अध्यक्ष धर्म बहादुर शाहीले बताउनुभयो । यता जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय मुगुका डाक्टर कमल ढुंगानाका अनुसार भाईरल ज्वरोको प्रभाव कम नै परेको बताउँनुहुन्छ । यो भाइरल ज्वरो बढेको जानकारी पाउनासाथ अस्पतालको टोली संक्रमण स्थलमा पुगेको थियो ।

सोरुका पुरुमुरु र जिमा गरि दुई गाउँमा चेकजाँच गर्दा १ सय ५० जनालाई प्रकोप फैलिएको पाइयो तर धेरै प्रभाव परेको भने छैन । पछिल्लो समय सोरुका मात्र नभई छायाँनाथ रारा नगरपालिकामा पनि यस्तो समस्या देखिएको छ । चेकजाँच गर्दा गाउँमा उपचार नभएपछि दुईजनालाई जिल्ला अस्पताल मुगुमा रिफर गरिएको छ ।

विशेष गरेर सुख्खा खडेरी, हिमपात नभएका कारण भाइरल प्रकोप बढेपनि यद्धपि थप स्वास्थ्यकर्मी परिचालन गरिने बताउनुभयो । यस भाइरल ज्वरोका लक्षणहरु कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने, बान्ता आउने, आँखा दुब्ने, खाना खान मन नलाग्ने र शरीर कमजोर हुँदै जाँने देखिएको छ ।