काठमाडौं, असोज ५
राजधानीमा जारी साफ यू–१८ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । हलचोक मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुने खेलमा नेपाल जितका साथ सेमिफाइनलमा पुग्ने दाउमा छ । तर, बदलिएको भुटानविरुद्धको खेल कठिन हुने नेपाली प्रशिक्षक बताउछन् ।
पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी गर्दै प्रतियोगिताको सुरुवाात गरेको डिफेन्डिङ च्याम्पियन नेपालले भुटानविरुद्ध सहज जितका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा हुने छ । तर, भुटान भने नेपालमाथि अप्रत्यासित नतिजा निकाल्दै नेपाललाई स्तब्ध बनाउने दाउमा हुने छ ।
दोस्रो संस्करणको समूह चरणमा भुटानले नेपालमाथि १–० ले पराजित गरेकाले भुटानसँग सजग भएर खेल्नुपर्ने नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठ बताउछन् । पहिलो खेल खेल्न लागेको भुटान यदि आइतबार बराबरीमा रोकिएमा सेमिफाइनल पुग्ने होड सबैका लागि खुला हुने छ ।
सन् २०१५ देखि आयोजना हुँदै आएको साफ यू–१८ फुटबलमा दुवै संस्करणको उपाधि नेपालले जितेको छ भने तेस्रो पटक उपाधि जित्ने अभियानमा रहेको नेपाललाई भुटानविरुद्ध सहज जित आवश्यक पर्ने छ ।
पहिलो पटक नेपालमै आयोजना भएको यू १८ साफ च्याम्पियनसिपको उपाधि नेपाललै नै जितेको थियो भने भुटानमा भएको दोस्रो संस्करणको उपाधि पनि नेपालले जितेको थियो । नेपालले सन् २०१७ मा भएको दोस्रो संस्करणमा पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएको थियो ।
त्यतिबेला ८७ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दैै भुटानले नेपालमाथि १–० को जित निकालेको थियो । प्रतियोगितामा सहभागि पाँच टिम भएकाले राउण्ड रोविन लिगका आधारमा शीर्ष स्थानमा रहने टिमले उपाधि जितेको थियो । जसमा बाँकी खेल जित्दै नेपालले ९ अंकका साथ उपाधि जित्दा दोस्रो भएको भारतको पनि ९ अंक नै रहे पनि गोल अन्तरका आधारमा उप विजेता बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्