जनता टाइम्स

५ आश्विन २०७६, आईतवार ०९:१४

बालकोटमा सञ्चालित कपास उद्योगमा आगलागी


भक्तपुर, असोज ५ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गर्नुभएको सो उद्योगमा कोही कामदार नभएको बेला बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर आगो लागेको हो ।

सोउद्योगले पुराना कपडाबाट रुवा बनाउने गर्दै आएको थियो । आगलागी के कारणले भएको भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो । काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ ।

आगलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार र अन्य सामान जलेर नष्ट भएका छन् । प्रहरी वृत्त थिमिमा प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले आगलागीका कारण खुलिनसकेको र घटनाको अनुसन्धान भइरहेको बताउनु भयो । उहाँका अनुसार आगलागीबाट करीब रु २५ लाख बराबरको क्षतिको अनुमान भएको र क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।