जनता टाइम्स

१४ माघ २०८०, आईतवार ००:१५

सरकार परिवर्तनसँगै योजना अलपत्र हुने नराम्रो परिपाटीको अन्त्य जरुरी छ : केपी ओली


काठमाडौं, माघ १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई समृद्ध नेपाल, सुखी नेपालीको मुल लक्ष्य मन नपर्ने बताउनु भएको छ ।

पार्टीको अर्थ तथा योजना विभागले १६औं पञ्चवर्षीय योजनाबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्र र जनताको आवश्यकतामा निर्मित समृद्ध नेपाल सुखी नेपाली अहिलेको सरकारलाई मन नपर्ने विषय भएको बताउनु भयो ।

समृद्ध नेपाल भन्ने शब्द अहिलेको सरकारले उच्चारण नै नगर्ने उहाँको भनाइ छ । एमालेले देशको आवश्यकता अनुसार नीति बनाउने हुँदा ती सबै नीति राष्ट्रिय नीति हुने भन्दै अध्यक्ष ओलीले त्यसअनुसार एमाले चल्ने स्पष्ट पार्नुभयो । १६औं योजनालाई देशको हितमा बनाउनु पर्ने उहाँले बताउनुभयो ।

देशले बनाउने योजना राष्ट्रिय विकास र राष्ट्रिय आवश्यकताको दस्तावेज हुने भएको अनि त्यसले सबै क्षेत्रको उत्थानसँग सम्बन्ध राख्ने अध्यक्ष ओलीले बताउनुभयो ।

नेपालमा भने सरकार परिवर्तनसँगै योजना अलपत्र हुने नराम्रो परिपाटीको विकास भएको पनि उहाँले बताउनुभयो । ५ वर्षका लागि योजनामा प्रस्तुत गरिएका भिजन, मिसन र पोलिसी सरकार परिवर्तन भए पनि फलो गर्नुपर्ने अध्यक्ष ओलीको भनाई छ ।