जनता टाइम्स

१५ माघ २०८०, सोमबार ०८:५०

फराकिलो सडकमै दुर्घटना धेरै


कास्की, १५ माघ । कास्कीमा चालु आर्थिक वर्षको छ महिनामा ५० वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर २२ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७७/७८ मा भएका सवारी दुर्घटनाको सङ्ख्या ६४ थियो । उक्त दुर्घटनामा परेर ४३ जनाको ज्यान गएको र ३२ जना गम्भीर घाइते भएका थिए ।

आव २०७९/८० मा भने कास्कीमा ११७ दुर्घटना हुँदा ४४ जनाको ज्यान गएको र १२३ जना घाइते भएका थिए । प्रहरीका अनुसार कास्कीमा सवारी दुर्घटनाको सङ्ख्या वर्षैपिच्छे बढिरहेको छ । फराकिलो छ लेन सडक भए पनि सबैभन्दा बढी मानवीय क्षति हुने मार्ग अहिले जिरो किलोमिटर–विन्ध्यवासिनी रहेको प्रहरीको भनाइ छ । सोही स्थानमा छ महिनाको अवधिमा छ जनाले ज्यान गुमाइसकेका छन् ।

कास्की जिल्ला प्रहरी प्रवक्ता श्रवणकुमार विक ज्यानै जाने गरी भइरहेका दुर्घटना प्रहरीलाई पनि टाउको दुःखाइ बनेको बताउनुहुन्छ । पछिल्लो समय बजार क्षेत्र र राजमार्गमा सवारी दुर्घटना बढी हुने गरेका छन् ।

राजमार्ग क्षेत्रमै बढी दुर्घटना हुने गरेको छ । “तीव्र गति, मादक पदार्थ सेवन, साँघुरो बाटो, सडक उज्यालो नहुनुलगायत कारणले सहरभित्र बढी दुर्घटना भएका छन् । पुस दोस्रो साता पस्र्याङमा भएको दुर्घटना सडकमा बत्ती नहुँदा भएको एउटा घटना हो । किनभने पैदलमार्गमा बत्ती नभएपछि सर्वसाधारण सडकबाट हिँडेका थिए । मध्यरातको समयमा गाडी नआउने अनुमान गर्दै सडकबाट हिँडेका बेला दुर्घटना भएको थियो,” उहाँले भन्नुभयो ।

ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठक चालकको लापरबाही, तीव्र गति, सडकको अवस्था जस्ता कारणले दुर्घटना बढी हुने गरेको बताउनुहुन्छ ।

पोखराका केही सडक चौडा भए पनि ती सडकमा जोडिएका पुल साँघुरा छन् । पोखराको मुख्य द्वार पृथ्वीचोकमा छ लेनको सडक हुँदा दुई लेनको पुल छ । पोखरा–बागलुङ राजमार्गको जिरो किमी–हेम्जा खण्ड छ लेनको छ तर फिर्केको पुल भने दुई लेनको छ ।