काठमाडौं, असोज ५ । नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने भएको छ । संगठनका सदस्यको मनोवल उकास्न सहुलियत ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा १५ करोड रुपैया विनियोजन गरिएको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनअनुसार कल्याण कोषले यस्तो निर्णय गरेको हो । प्रहरीको कल्याण कोष सञ्चालक समितिको निर्णयअनुसार उक्त ऋण सुविधा आजदेखि नै लागू हुनेछ । वरिष्ठ प्रहरी अधिकृत र कनिष्ठ प्रहरी अधिकृतका लागि हलुका सवारी र सकल दर्जाका प्रहरी कर्मचारीका लागि मोटरसाइकल स्कुटर, ल्यापटप, टेलिभिजन, फ्रिज, वासिङ मेसिन, माइक्रोओभन किस्ताबन्दीमा समेत गरिद गर्नका लागि सहुलियत ऋण उपलब्ध हुने प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिनुभयो ।
प्रहरीले यसरी किस्ताबन्दीमा ऋण लिँदा कल्याणकोष कार्यबिधि २०७१ को अनुसूचि १० अनुसारको निवेदन दिनुपर्नेछ । हलुका सवारी साधनका लागि ६ प्रतिशत व्याजदरमा १० वर्षका लागि १५ लाख रुपैयासम्म ऋण लिन सकिनेछ । मोटरसाइकलका लागि भने सोही व्याजदरमा चार वर्षका लागि दुई लाख, ल्यापटप र टिभीलगायतमा ५० हजार र फ्रिज माइक्रोओभनमा २५ हजार ऋण लिन सकिने प्रहरीले जनाएको छ ।
कार/जीप लिने प्रहरी अधिकृतको हकमा सात वर्ष नोकरी गरेको र कनिष्ठ प्रहरी अधिकृतका हकमा सात वर्ष, प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म पाँच वर्ष र सोभन्दा माथिका लागि तीन वर्ष नोकरी अवधि बाँकी भएको हुनुपर्नेछ । अन्यको हकमा भने पाँच वर्ष नोकरी अवधि भएको हुनुपर्ने जनाइएको छ । चाडबाड शुरु भएकाले त्यस्ता सामग्री खरीद गर्न चाहने प्रहरी कर्मचारीका लागि यो सहुलियत ऋण सुविधा उपलब्ध गराइएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्