जनता टाइम्स

२० माघ २०८०, शनिबार १५:०६

सरकारको रवैयाले देश लथालिंग र भताभुंग भएको छ : बिष्णु पौडेल


रुपन्देही, माघ २०। नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताउनु भएको छ ।

शनिवार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता-२०८० को अवसरमा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनु भएको हो । पौडेलले अहिले देशको राजनीति बिग्रिरहेको बताउनु भयो ।

पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको पन बताउनु भयो ।

‘देश धेरै अफ्ठ्यारो अवस्थामा छ । देशले धेरै ठूलो सफर गरिरहेको छ । म यहाँहरुलाई बताउन चाहन्छु । जबसम्म राजनीति संग्लो हुँदैन । तबसम्म देश ठिक ढंगले अघि बढ्न सक्दैन,’ पौडेलले भन्नुभयो, ‘अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुंग भएको छ । यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौति र परिस्थिति छ ।’

उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतिपूर्ण परिस्थिति रहेको भन्दै यसतर्फ सचेत रहन सवैलाई आग्रहसमेत गर्नुभयो ।