काठमाडौं, माघ २१ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकारले हाईप्रोफाइलका सहकारी ठगलाई छानविनको दायरामा समेत ल्याउन नसकेको बताएका छन् । रिपोर्टर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा एमाले नेता बस्नेतले यस्तो बताउनु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ लक्षित गरी उहाँले सरकारले हाई प्रोफाइललाई कारबाही गर्नै नसक्ने बताउनु भयो । ‘हाईप्रोफाइलका सहकारी ठगहरु अनेक नौटंकी र बहानाबाजी गरेर हिँडिरहेका छन । हाई प्रोफाइलका सहकारी ठगहरुलाई सरकारले कारबाही गर्ने त परै जाओस, छानविनको दायरामा पनि ल्याउन सकेको छैन,’ बस्नेतले भन्नुभयो ।
रास्वपा सभापति रवि लामिछानेले कम्पनी रजिष्टार्ड कार्यालयमा बैंक स्टेटमेन्ट देखाएर गुडविल शेयरमार्फतको पैसा नगद लिएको देखिएको उहाँको भनाई छ । यसबाट ठगी मात्रै नभएर किर्ते र जालसाझीको मुद्दासमेत प्रभावित हुने बस्नेतको भनाई छ । ‘म चाहीँ बाठो छु, भएभरका सबै लाटा छन’ भनेर रविले अभिव्यक्ति दिइरहेको आरोपसमेत बस्नेतले लगाउनु भयो । भिडिओ बनाएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनी र रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्युको छानविन कहाँ पुग्यो भन्दै उहाँले प्रश्न उठाउनु भयो । पपुलिष्ट शक्तिको आडमा यस्ता प्रकारका अपराधमा सरकारले उन्मुक्ति दिन नहुने उहाँको भनाई छ ।
साथै, वर्तमान सरकार सदनबाट भागिरहेको पनि उहाँले बताउनु भयो । उहाँले अहिले निकै बाध्यात्मक अवस्था आएपछि सरकारले संसद् अधिवेशन बोलाएको दाबी गर्नुभयो । वर्तमान सरकारलाई अलोकप्रिय सरकारको संज्ञा दिँदै उहाँले अहिले संघीय सरकारदेखि प्रदेश सरकारले समेत सदन छलेर भागिरहेको टिप्पणी गर्नुभयो । अहिले संघीय सरकारदेखि प्रदेश सरकारमा रहेकाहरुमा संसद जान नपरे हुन्थ्यो भन्ने मनोवृति देखिएको समेत बस्नेतको भनाई छ ।
यस्तो प्रकारको प्रवृत्तिलोकतन्त्रकालागि राम्रो नहुने भन्दै बस्नेतले सरकारले अहिलेसम्म एउटाबाहेक कानुन बनाउन समेत नसकेको बताउनु भयो । उहाँले सरकारले अहिले अपराधी र पीडकलाई उन्मुक्ति दिने गरी संसदमा टीआरसी विधेयक ल्याउन खोजेको बताउनु भयो । नेता बस्नेतले कांग्रेस र नेकपा एकीकृत समाजवादीले टीआरसी विधेयकलाई सत्ता र राष्ट्रिय सभाका सांसदसँग साटेको आरोप लगाउनु भयो ।
‘यो सरकार बनेपछि अहिलेसम्म एउटाभन्दा बढी कानुन बनाउन सकेको छैन । टिआरसी विधेयक प्रस्तुतगर्न सकेको छैन,’ बस्नेतले भन्नुभयो, ‘पीडकहरुलाई उन्मुक्ति दिने, अपराधीहरुलाई, दोषीहरुलाई बचाउने र पीडित पक्षको आवाजलाई कमजोर बनाउने ढंगले यो विधेकय आउन खोजेको छ । यो विधेकलाई कांग्रेस, माओवादी, समाजवादी लगायतले सत्तासँग र राष्ट्रिय सभाका सांसदसँग सट्टापट्टा गर्न खोजेको छ ।’ बस्नेतले एमालेले टिआरसी विधेकमा जनताको हित, पीडितहरुको हित, अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी नेपालपक्ष राष्ट्र भएका दस्ताबेजहरुको पक्षमा हुनेगरी आफ्नो अडान कायम राख्ने बताउनु भयो ।
वर्तमान सरकार साह्रै अलोकप्रिय भएको र अर्थतन्त्रका सबै सूचकहरु नकारात्मक बन्दै गएको उहाँको भनाई छ । वर्तमान सरकार सबैतिरबाट असफल भएको उहाँको टिप्पणी छ । नेता बस्नेतले निर्माण व्यवसायीलाई सरकारले सात खर्ब भन्दा बढी भुक्तानी नदिएको र कसैलाई पनि न्यायोचित ढंगले न्याय दिन नसकेको बताउनु भयो ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा २०४२ सालदेखि राजाका भाइ धिरेन्द्रसँगको व्यापारिक साझेदारी र विनोद चौधरीसमेतको आडमा अरुण चौधरीले हडपेको भनेर प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले भनिरहँदा पनि प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा आफ्नो अनविज्ञता प्रकट गरिरहेको बताउनु भयो । ‘प्रधानमन्त्री प्रचण्डले यो विषयमा म बेखबर छु, यो कसरी भयो ? यसले त व्यापारीहरुलाई निरुत्साहित बनाएको छ भन्दै हिँड्नु भएको छ । काम गर्ने प्रहरी प्रशासनको निकाय पनि प्रतिपक्षले परिचान गरेको जस्तो देखिएको छ,’ बस्नेतले भन्नुभयो ।
विगतमा भ्रष्टाचार छानविन गर्छु भनेर सरकारले अनेक हल्लाखल्ला गरेपनि सुन प्रकरणमा आफ्नै मान्छे जोडिएपछि चुपचाप बसेको टिप्पणी गर्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिइएको उहाँको आरोप छ । वर्तमान सरकारले निकै शानदार ढंगले हल्लाखल्ला गरेर सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियान हात्ती आयो, हात्ती आयो फुस्स बनेको उहाँको टिप्पणी छ ।
बस्नेतले एमालेले समकालीन राजनीतिमा प्रचण्ड र माधव नेपालसँग सहकार्य नगर्ने बताउनु भयो । अन्तर्राष्ट्रिय शक्तिको दवाबमा कांग्रेसले कमजोर धरातल भएको प्रचण्डलाई बोकेर हिँडेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले यसले कांग्रेसलाई नै बढी घाटा भइरहेको बताउनु भयो । कांग्रेस जिम्मेवार हुन नसकेको उहाँको भनाइ छ ।
कांग्रेसमा कोशी प्रदेशमा विद्रोहको वातावरण बनेपनि उक्त विद्रोहबाट कांग्रेसले पाठ सिक्ने भन्दा पनि उक्त विद्रोहलाई सामसुम गरेर जबर्जस्ती सत्ता टिकाउन लागिपरेको बताउनु भयो । ‘प्रचण्डसँग सहकार्य गर्ने कुरा, माधव नेपालसँग सहकार्य गर्ने कुरा आजको समकालीन राजनीतिमा सम्भावना छ भन्ने कुरा मलाई लाग्दैन । त्यो खाले समीकरण बनाउने र सत्तामा जाने हाम्रो इन्ट्रेस्ट छैन,’ बस्नेतले भन्नुभयो, ‘अन्तरार्ष्ट्रिय शक्तिको दवाबमा कांग्रेसले प्रचण्डजस्तो कमजोर धरातल भएको व्यक्तिलाई च्यापेर हिँडेको छ । त्यसले प्रचण्डभन्दा पनि कांग्रेस र शेरबहादुर देउवालाई कमजोर बनाइरहेको छ ।’
फरक प्रसंगमा उहाँले अहिले पुनर्उत्तथानवादी शक्तिहरुले टाउको उठाउन खोजेकार बैंकका ठगहरुले ज्ञानेन्द्रलाई उचालिरहेका उहाँले आरोप लगाउनु भयो । दरबार हत्याकाण्ड छानविनको प्रश्न उठिरहेको भन्दै उहाँले प्रचण्डले छानविन गर्छन् भन्ने आफूलाई नलागेको बताउनु भयो । विरेन्द्रको वंशनाश भएपछि राजा बनाइदेऊ भन्दै माधव नेपालले ज्ञानेन्द्रको पाउमा दाम चढाएकाले उहाँमाथि नैतिकताको प्रश्न उठेको उहाँले बताउनु भयो । राजा ल्याएर देशमा समृद्धि आउँछ भन्नु कोरा सपना मात्रै भएको ठोकुवा पनि बस्नेतले गर्नुभयो । उहाँले लोकतन्त्रको विकल्प राजतन्त्र नभएर केवल उन्नत लोकतन्त्र भएको बताउनु भयो । ज्ञानेन्द्रलाई राजनीति गर्न मन लागेको भए दल खोलेर प्रतिस्र्धामा आउन समेत उहाँले चुनौती दिनुभयो ।
‘राजनीति गर्न रहर लागेको छ भने हाम्रो संविधानले बडो स्पष्ट व्याख्या गर्दिएको छ । ज्ञानेन्द्रकै नाममा पार्टी खोले भयो । ज्ञानेन्द्रलाई समर्थन गर्ने को–को हुन ? ती सबै तत्वहरुलाई एक ठाउँमा समेटे भयो,’ बस्नेतले भन्नुभयो, ‘आगामी निर्वाचनमा चुनाव लडे भइगयो । होइन भने दुई चार जना व्यक्ति र पार्टीलाई उचालेर फेरि शक्तिमा आउन सक्छु भन्ने सपना ज्ञानेन्द्रले बोकेका हुन भने ज्ञानेन्द्र त ओरिजिनल राजा हुँदै होइनन । ओरिजिनल राजा वीरेन्द्र र उनको वंश नाश गरिहालियो ।’
आफूहरुले पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गरिनुपर्छ भन्ने मान्यता नबोको पनि बस्नेतले प्रष्ट पार्नुभयो । आफ्ना समर्थकहरुलाई जम्मा गरेर दल खोल्न बस्नेतले पूर्वराजालाई सुझाव दिनुभयो । ‘पूर्वराजालाई कारबाही गर्नुपर्छ भन्ने मान्यता एमाले बोकेको छैन । ज्ञानेन्द्र अहिले पनि पार्टी खोलेर राजनीतिमा आउन, राजेन्द्र लिङ्देनदेखि रविन्द्र मिश्रहरु प्रकाशचन्द्र लोहनीहरुलाई मिलाएर को–को अपराधिक प्रवृत्तिका मानिसहरु छन्, तिनको नाम लिन पनि झ्याउ नै लाग्छ । उनको पार्टी खुलोस, शुभकामना छ,’बस्नेतले भन्नुभयो ।
बस्नेतले अहिले देशमा पपुलिष्ट प्रवृत्तिको खतरा रहेको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । निर्वाचन कानुनमा दुई दल वा दुई गठबन्धनबीचको निर्वाचन र नो भोटको व्यवस्था हुन अनिवार्य देखिएको बस्नेतको भनाई छ । निर्वाचन कानुनमा यी दुई व्यवस्थान भएसम्म देशमा अस्थिरता बढ्ने र नानीमैयाँ प्रवृत्तिहरुले चुनाव जितिरहने बस्नेतको भनाइ छ ।
बस्नेतले अहिले सबैभन्दा संगठित र राष्ट्रवादी अभियानमा रहेको पार्टी एमाले मात्रै रहेको प्रष्ट पार्नुभयो । एमालेको मिसन ८४ लाई अरुले समेत कपी गरेको भन्दै बस्नेतले २०८४ सालमा अथवा जहिले निर्वाचन भएपनि एमालेले बहुमत ल्याएर सत्ताको नेतृत्व गर्ने गरीको तयारीमा रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्