जनता टाइम्स

२१ माघ २०८०, आईतवार १७:४१

योगेश भट्टराईको प्रस्ताव : गठबन्धन सरकारको चरम असफलताले ब्यवस्थाबिरोधी सल्बलाए, यसलाई विघटन गरौं


ताप्लेजुङ, माघ २१ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश बर्वाद बनेको भन्दै गठबन्धन सरकार बिघटन गर्न प्रस्ताव गर्नुभएको छ । प्रेस चौतारी ताप्लेजुङले आज फुङलिङमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टराईले यस्तो बताउनु भएको हो ।

उहाँले गठबन्धन सरकारले आफ्ना नेता तथा कर्यकर्ता जोगाउने बहानामा सुनकाण्ड, भुटानी शरणार्थी काण्ड, ललितानिवास काण्डका मुद्दालाई निष्क्रिय बनाउँदै लगेको ठोकुवा पनि गर्नुभयो । सरकारको चरम असफलताले व्यवस्था विरोधीलाई फाइदा पुगिरहेको औल्याउँदै यो गठबन्धन विघटन गरी अनिवार्य अर्को सरकार बनाउन लाग्नुपर्ने बताउनु भयो ।

उहाँले व्यवस्था परिवर्तन सम्भव नहुने बताउनु भयो । ‘राजतन्त्र नेपालको इतिहास हो । त्यो न भविष्य हो, न वर्तमान । यसलाई यही रुपमा बुझ्दा सवैको कल्याण हुन्छ,’ ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका एमाले सचिव भट्टराईले भन्नुभयो ।

उहाँले पृथ्वीनारायण शाहबाहेक नेपालको विकास र समृद्धिका लागि कुनैपनि शाहवंशीय राजाले एकरति पनि योगदान नरहेको ठोकुवा गर्नुभयो । पृथ्वीनारायणले छरिएर रहेका राज्यलाई एकीकरण गर्दै ब्रिटिस उपनिवेसविरुद्ध लड्ने उच्च साहस गरेका कारण उहाँको योगदानलाई मान्न सकिने तर अरुको कुनै योगदान नरहेको उहाँको भनाइ थियो।

सचिव भट्टराईले इतिहासकै सबैभन्दा भ्रष्ट, आर्थिक धराशायी गराउने, अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसक्ने वर्तमान गठबन्धन सरकारका कारण व्यवस्थाविरोधीलाई फाइदा पुर्याइरहेको बताउनु भयो ।

‘कर्मचारीलाई तलवभत्ता खुवाउनसमेत डेढ खर्व आन्तरिक ऋण लिनुपर्ने अवस्थामा देश पुगेकोले वर्तमान सरकारको विकल्प खोज्नु अनिवार्य देखिन्छ । व्यवस्था परिवर्तन सम्भव छैन। व्यवस्थालाई सही रुपले परिचालन गर्न असफल सरकार परिवर्तन गरौँ। गठबन्धनले मिलेर देश तहसनहस बनाए,’ भट्टराईले भन्नुभयो ।