जनता टाइम्स

५ आश्विन २०७६, आईतवार २१:०१

प्रधानमन्त्री ओलीको निर्देशन : काम नगर्ने ठेकेदारलाई ब्ल्याक लिस्ट होइन, डार्क लिस्टेड गर्नुस


काठमाडौं, असोज ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै काम नगर्ने ठेकेदारलाई ब्ल्याक लिस्टमा नभई डार्क लिष्टमा नै राख्न निर्देशन दिनुभएको छ । काम नगर्ने ठेकदारलाई राजनीतिक संरक्षण हुँदा देशैभर विकास आयोजना अलपत्र परेको भन्दै प्रधानमन्त्री ओलीले गम्भीर असन्तुष्टि समेत जनाउनु भएको छ ।

राष्ट्र विकास समस्या समाधान समितिको ४६ औँ बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले हालसम्म ठेक्का पाउनेदेखि काम नगरी बस्नेहरुलाई उच्च तहको राजनीतिक संरक्षण हुँदा राज्य संयन्त्र नै निरीह बन्दै आएको बताउनु भयो । ‘जसरी चिलले चल्ला टिप्न खोज्दा माउ कुखुराले पखेटा फिँजाएर चल्लाको रक्षा गर्छ, काम नगर्ने ठेकेदारको पनि माथिबाट त्यसैगरी रक्षा नहुने हो भने काम हुन्छ,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरुसहित उपस्थित बैठकमा भन्नुभयो ।

प्रधानमन्त्री ओलीले ठेकदारले समयमा काम नगर्दा अर्थतन्त्रमा समेत नकरात्मक असर परिरहेको तथ्य पनि राख्नुभयोे । ‘१० वर्ष अघि बन्नुपर्ने बाटो आजसम्म बनेको छैन, १० वर्षअघि त्यो बाटो बनेको भए त्यसको आर्थिक, सामाजिक उपलब्धि कति हुन्थे ?’, प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो, ‘अर्थतन्त्रलाई गति दिन त्यसले काम गर्थ्यो, बालबालिका त्यही बाटो विद्यालय जान पाउँथे ।’

प्रधानमन्त्री ओलीले अन्तिम पटक म्याद थप गर्न सकिने भन्दै त्यसमा पनि काम नभए कसैको दवावमा नपरी र कसैलाई नसोधी कारवाही गर्न स्पष्ट निर्देशन पनि दिनुभयो । ‘सरकारले थप आर्थिक दायित्व बोक्ने होइन, त्यस्तालाई कारबाही गर्ने र क्षतिपूर्ति भराउने गरी काम गर्नुस्, अव कसैलाई नसोध्नोस, काम नगर्ने ठेकेदारलाई ब्ल्याक लिस्ट होइन, डार्क लिस्टेड गर्नुस,’, प्रधानमन्त्री ओलीले भन्नुभयो ,‘काम नगर्ने ठेकेदारलाई एउटा आयोजनाबाट मात्रै होइन, सधैँ काम गर्न नसक्ने गरी अयोग्य बनाउनुपर्छ ।’

बैठकमा यातायात मन्त्री रघुवीर महासेठले नयाँ नियमावली अनुसार अब नयाँ परियोजनामा समस्या नआउने बताउनु भयो । तर, उहाले पुराना निर्माणका काममा भने अन्तिम पटक म्याद थप्नुपर्नेमा जोड दिनुभयो । ‘खरिद नियमावलीमा भएको संशोधनले नयाँ ठेक्काका समस्सा समाधान गरेको छ, तर ठेक्का लागिसकेका पुराना आयोजनाको काम अलपत्र पर्ने भयो। कम्तीमा अन्तिम पटकका लागि त्यस्ता अलपत्र काम सम्पन्न गर्ने गरी ठेकेदारलाई म्याद थपिदिउँ’, उहाको भनाई थियो ।