जनकपुर, माघ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यथास्थितिमा पास गर्न नसकिने बटमलाइन सुनाउनु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलले सो विधेयक एमालेले संसदबाट पास गर्न नदिने पनि प्रष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले जनकपुर विमास्थलमा पत्रकारहरुसँगको कुराकानीमा सकेसम्म सहमतिबाट टीआरसी विधेयक टुङ्ग्याउँदा सबैको हित हुने बताउनु भयो । विधेयकमा समेटिएका केही कुराले पीडितलाई न्याय भन्दा थप पीडा थप्ने अवस्था आउने उल्लेख गर्दै अध्यक्ष ओलीले सबैको सममतिमा मिलाएर मात्रै विधेयक पारित गराउनेमा आफूहरु रहेको स्पष्ट पार्नुभयो ।
‘मस्यौदामा केही कुरा मिलेका छैनन । त्यही कुरालाई मिलाएर पास गर्नुपर्छ भन्ने कुरा भइरहेका छन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी नमिल्नुपर्ने कारण नै छैन । पीडितहरुले न्याय पाउनुपर्यो । विधेयक पीडित केन्द्रीत हुनुपर्यो, पीडितलाई पीडा थप्नु भएन । पहिल्यै पीडित छँदैछन, अब फेरी उनीहरुलाई दबाएर जानु राम्रो हुँदैन ।’
अध्यक्ष ओलीले थप्नुभयो, ‘अन्तर्राष्ट्रिय समुदायले स्वीकार्नेगरी, सर्वोच्च अदालको फैसला समेतलाई ध्यान दिएर मानवता विरुद्धका जघन्य अपराधहरुमा छुट नहुनेगरी र फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले सहमति हुनुपर्छ ।’ माओवादी केन्द्रको संसदीय दलको बैठकले यही अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने विषयमा छलफल गरेलगत्तै ओलीको यस्तो बटमलाइन आएको हो ।
ओलीले केन्द्रले ऐन नबनाउँदा प्रदेशमा प्रहरी समायोजन हुन नसकेको भनेर मुख्यमन्त्रीहरुले ज्ञापनपत्र बुझाएको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रदेशले ऐनका कारण कामै गर्न नसकेको भन्दापनि आफ्नो मान्छे भर्ती गर्नलाई प्रदेश नेतृत्वले हतारो देखाएको टिप्पणी गर्नुभयो । राजनीति गर्नेले प्रहरी चलाउँदा धेरै बिग्रिएको भन्दै प्रहरीलाई नेता र मन्त्रीको अधिनमा भन्दा पनि स्वतन्त्र रुपले आफ्नै ढंगले चल्न दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘प्रहरीको समायोजन गर्नुपर्छ तर पुलिस नभएर रोकियो भन्ने होइन । आफ्ना मान्छे पुलिसमा भर्ना गर्न पाइएन भनेर हुनसक्छ । पुलिस नै नभएको त होइन नी’ उहाँले भन्नुभयो, ‘पुलिसलाई आफ्नै ढंगले चलाउने परिपाटी बन्न दिनुपर्छ ।’ अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो समयको सक्रियताबारे सोधिएको प्रश्नमा शाहले नयाँ पार्टी खोल्ने पृष्ठभुमीको तयारी गर्न थालेकोतर्फ संकेत गर्दै पार्टी नै खोलेपनि त्यो ठूलो कुरा नहुने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्