जनता टाइम्स

२२ माघ २०८०, सोमबार १९:१५

सरकारको आपत्तिजनक हर्कतले देश मल्टीअर्गान फेलियरको अवस्थामा पुग्यो : विष्णु पौडेल


काठमाडौं, माघ २२ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको अहिलेको परिस्थिति निकै कहालीलाग्दो रहेको तथ्य उजागर गर्नुभएको छ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो तथ्यांक राख्नुभएको हो ।

पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष पौडेलले देशको हरेक क्षेत्र समस्यामा मात्र नभई गम्भीर समस्यामा परेको बताउनु भयो । ‘गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्तालिप्सा र स्वार्थले गर्दा देश आज छियाछिया भएको छ,’ उपाध्यक्ष पौडेलले भन्नुभयो ।

उहाँले अहिले देश मल्टी अर्गान फेलियरको अवस्थामा पुगेको तथ्यांक पनि पत्रकारसमक्ष सुनाउनु भयो । ‘देशको अवस्था सामान्य छैन, बिग्रिएको अवस्थामा मात्रै पनि छैन, अवस्था निकै कहाली लाग्दो छ, जता हेर्यो खराब छ, देशलाई यो ठाउँमा ल्याउने काम अहिलेको गठबन्धन सरकारले गरेको हो,’ उपाध्यक्ष पौडेलले भन्नुभयो ।

शिक्षा, स्वास्थ्य, रोजगार, श्रम, अर्थतन्त्र सुशासन, कृषि, पर्यटन काहीँ पनि चित्त बुझाउने अवस्था नरहेको पौडेलले बताउनुभयो । यस विषयमा पत्रकारले अझ बुलन्द आवाज उठाउनु पर्ने अवस्था रहेको उहाँले प्रष्ट पार्नुभयो । एमाले प्रतिपक्षमा रहेको नाताले एमालेले पनि यी आवाज सशक्त रूपमा उठाउने पौडेलले बताउनुभयो ।

अहिलेको सत्ताले प्रतिपक्षमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरेका र प्रतिपक्षका आवाजलाई उपेक्षा गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । उहाँले अव एमाले निर्णायक आन्दोलनको तयारीमा रहेको उदघोष पनि गर्नुभयो । सदनमा प्रतिपक्षीले उठाएको आवाज सुनुवाइ नभए सडकबाट पनि सशक्त दबाब दिने अवस्था आउने पौडेलले चेतावनी दिनुभयो ।

अहिले साधारण खर्च धान्ने राजश्व समेत सरकारले उठाउन नसकेको पौडेलले बताउनुभयो । अन्तराष्ट्रिय सहयोग र अनुदानमा गिरावट आएकोले देश टाट पल्टने अवस्थामा पुगेको भन्दै पौडेलले चिन्ता व्यक्त गर्नुभयो । मुलुकको अर्थतन्त्रको समस्या समाधान त परै जाओस अहिलेको सरकारले अर्थतन्त्रको समस्या समेत बुझ्न नसकेको पौडेलले बताउनुभयो ।

जनता र राष्ट्रका माग सम्बोधन गराउन अब सशक्त जनदबाब आवश्यक रहेको पौडेलको धारणा छ । ‘जनताको आवाज सुन्नै पर्ने दबाब सिर्जना गर्न हामी जनताको बिचमा जाने छौँ’, उहाँले भन्नुभयो । प्रेस स्वतन्त्रता, मानवअधिकार र जनअधिकारको पक्षमा सशक्त जनमत सिर्जना गर्नुपर्ने पौडेलले बताउनुभयो । त्यसको लागि सञ्चार क्षेत्रले एमालले साथ दिनुपर्ने उहाँले बताउनुभयो ।