जनता टाइम्स

२४ माघ २०८०, बुधबार २१:०१

दुर्गा प्रसाईजस्ता मान्छे वेलाबखत पार्टीमा जन्मन्छन, स्वार्थ पूरा नभएपछि धोका दिएर जान्छन : एमाले महासचिव पोखरेल


रुपन्देही, माघ २४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तामा टिकिरहने सत्ता गठबन्धन आबद्ध दलहरूका सोचले मुलुक सबै क्षेत्रमा अप्ठ्यारोमा परेको बताउनु भएको छ ।

एमाले रुपन्देहीले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले निर्वाचनअघि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको र त्यसपछिका काम पनि त्यसैगरी अन्यौलतामा बितिरहेको बताउनु भयो ।

‘सरकार सत्ताको खेलमा मात्र व्यस्त छ, विकास निर्माणका काम अलपत्र छन । ऋण दैनानुदिन बढिरहेको छ । जनता गरिबीले छट्पटिएका छन । युवा विदेश जान बाध्य छन,’ पोखरेलले भन्नुभयो । एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने उनले दाबी गर्दै विगतका आन्दोलनबाट पाठ सिकेर सबै राजनीतिक दल अगाडि बढ्नुपर्ने र देश र जनताको हितमा काम हुन एमालेको बहुमत आउनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो ।

उहाँले आन्दोलन संस्थागत गर्ने वेला कांग्रेसले जहिल्यै धोका दिने गरेको निश्कर्ष पनि सुनाउनु भयो । कांग्रेस सधै यथास्थितिको पक्षधर हो, उसले नबोली बसेपनि हुन्छ, तर एमाले परिवर्तनको नेतृत्व गर्ने पार्टी हो, त्यसैले आफ्ना विचार समाजका अगाडि राखिरहनु पर्छ तर हामी केही समययता हामी कमजोर भएका छौं भनेर स्वीकार गर्नुपर्छ अब त्यसो गर्नुहुँदैन’ महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले थप्नुभयो, ‘२०१७ देखि हालसम्मका विभिन्न आन्दोलन भए । कांग्रेस पनि जिम्मेवार पार्टी हो । हरेक आन्दोलनको नेतृत्व कांग्रेसले पनि गर्दै आएको छ तर आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न कांग्रेसले सधै धोका दिने गरेको छ । इमानदार भएर राजनीति गरेको भए पटकपटक आन्दोलन गर्नुपर्ने थिएन । ठूलो संघर्ष र आन्दोलनबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ,महासचिव पोखरेलले भन्नुभयो । कांग्रेसको सत्ता स्वार्थकै कारण मुलुकमा लोकतन्त्र पूर्णरूपमा संस्थागत हुन नसकेको उहाँको भनाई छ ।

महासचिव पोखरेलले दुर्गा प्रसाईजस्ता नेता वेलाबखत पार्टीमा जन्मने बताउनु भयो । ‘दुर्गा प्रसाईजस्ता ब्यक्तिहरु वेलाबखत प्रभावित पार्न पार्टीमा आउँछन । आफ्नो स्वार्थ पूरा नभएपछि धोका दिएर जाने गर्छन,’ पोखरेलले भन्नुभयो । प्रसाई अराजकताको प्रतिनिधि भएको पोखरेलले बताउनु भयो । ‘यस्ता खालका नेतालाई जनताले विस्तारै पाखा लगाउँदै जान्छन,’ उहाँले भन्नुभयो ।

यस्ता व्यक्तिप्रति पार्टी र जनता होसियार हुनुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, कलात्मक हिसाबले पार्टीमा आउँछन र धोका दिएर जान्छन ।’ प्रसाई प्रबृत्ति दोहोरिन नदिन आगामी दिनमा यस्ता अराजक नेताप्रति वेलैमाथि सचेत हुन आवश्यक रहेको उहाँले बताउनु भयो । ‘कुराभन्दा काम गर्ने वेला आएको छ । जनताले कामको मूल्यांकन गर्छन । जनताको माग र आवश्यकताको आधारमा काम गर्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले एमाले नेतृत्वमा बनेको स्थानीय सरकारले उदाहरणीय काम गर्नुपर्ने सझाव पनि दिनुभयो । एमालेका स्थानीय सरकारले अन्य दलले भन्दा फरक काम गर्नुपर्छ, जनताको हितमा काम गरिनुपर्छ । जनजीविकासँग जोडेर कार्यक्रम सञ्चालन गर्नुपर्छ, महासचिव पोखरेलले भन्नुभयो । सम्बन्धित विज्ञसँग छलफल गरी स्थानीय तहमा नमुना काम गर्नुपर्ने भन्दै उहाँले जनताले महसुस गर्ने गरी विकास निर्माणका काम हुनुपर्ने बटमलाइन सुनाउनु भयो ।