काठमाडौं, २४ माघ । एनआरटी हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
राजारानी क्लबलाई टाइब्रेकरमा हराउँदै एनआरटी फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो ।
दुई टिमका १९(१९ जना खेलाडीले पेनाल्टी प्रहार गरेपछि मात्रै खेलको निर्णय निक्लिएको हो । १९ औं पेनाल्टी प्रहारका क्रममा राजारानीका शिशिर लेखीको प्रहार एनआरटीका गोलरक्षक प्रिसोले रोकेका थिए । एनआरटीका मोहिन गुरुङले विजयी गोल गरेका हुन् ।
खेलको म्यान अफ द म्याच एनआरटीका प्रिसो घोषित भए । प्रिसोले ट्रफीसँगै नगद १० हजार रुपैयाँ पाए ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्