काठमाडौं, असोज ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकता गुट बनाउन नभई नयाँ नेपाल निर्माणका लागि भएको प्रष्ट पार्नुभएको छ । नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ साहना प्रधानको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले सो भनाई राख्नुभएको हो ।
‘कम्युनिस्ट आन्दोलनको उज्वल भविश्यको निम्ति, राष्ट्रको स्वाभिमान बचाउनका निम्ति जनताका अनुहारमा खुसी ल्याउनका निम्ति नेतृत्वले दुई पार्टीबीच एकता गरेको हो, आफूलाई अवसर प्राप्त गर्न होइन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सत्ताका लागि लडाईं नै लडाईं, गुटैनै गुट बनाउन एकता गरेको होइन, यो तथ्यलाई सवै नेता कार्यकर्ताले बुझ्न जरुरी छ ।’ उहाँले कतिपय सवालमा नेतृत्वबाटै सुधार थाल्न लागेको जानकारी पनि दिनुभयो । ‘हामीले आफ्ना लागि र ब्यक्तिका लागि प्राप्त भएका अवसर त्यागेर नयाँ अवसरका लागि पार्टी एकता गरेको हो । तर चीजहरु कहिले काहीँ सोचेको भन्दा फरक ढंगले जान लाग्यो भने करेक्शन गर्नुपर्छ, नेतृत्व त्यो कुरामा बडो सचेत छ, सतर्क छ,’ अध्यक्ष प्रचण्डको भनाई थियो ।
अध्यक्ष प्रचण्डले कम्युनिस्ट आदर्शतिर कति जना छौं भन्दै आफूसहित सवैतिर प्रश्न पनि गर्नुभयो । ‘हामी सवैले आफूतिर फर्केर सोचौं त, हामी कम्युनिस्ट आदर्शतिर नै छौं कि स्खलनतिर गइरहेका छौं ? आफैले आफैलाई आत्मसमिक्षा गरौं,’ उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले अव नेकपाका सवै नेता कार्यकर्तामा सुधारका लागि नयाँ आचरण, नयाँ ब्यवहार र नयाँ जीवन पद्धती र नयाँ आन्दोलन जरुरी रहेको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । ‘सवै नेता कार्यकर्तामा सुधारका लागि नयाँ आचरण, नयाँ ब्यवहार र नयाँ जीवन पद्धती र नयाँन् आन्दोलन जरुरी छ,’ प्रचण्डको भनाई थियो ।
उहाँले अहिले जनवादी क्रान्ति पूरा गरेर समाजवादी क्रान्ति स्थापना गर्ने चरणमा रहेको भन्दै साशन सत्ताको सञ्चालन पनि सोही अनुसार गर्नुपर्ने बताउनु भयो । ‘ अहिले जनवादी क्रान्ति पूरा गरेर समाजवादी क्रान्ति स्थापना गर्ने चरणमा रहेका छौं, सासन सत्तामा पग्ने आधार तयार भएर नै हामी सत्तामा पुग्यौं तर हामीमा थाहै नपाएर दिनदिनै स्खलित भइरहेका छौं,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले के हामी साँच्चीकै कम्युनिस्ट आदर्शमै छौं भन्दै कडा प्रश्न पनि गर्नुभयो ।
‘के साँच्चीकै कम्युनिस्ट नै छौं त हामी ? के समाजवादका लागि एउटा योद्धा जस्तै छौं त ? या हिजोको निरंकुशताका शासक जस्तै हुन थाल्यौं ? हामी पनि जनतालाई बिस्तारै–बिस्तारै भेट गर्नै गाह्रो हुने अवस्थामा त पुगेका छैनौं ?’ प्रचण्डको प्रश्न थियो । कम्युनिस्ट पार्टीका नेतामा पनि हिजोका निरंकुश साशकका जस्तै ब्यवहार देखिन थालेको पनि उहाँको भनाई थियो । ‘हिजोको शासक जस्तै ब्यवहार र आचरण त उस्तै उस्तै देखिन थाल्यो भने जनता रिसाउनु स्वभाविक हो, जसलाई सवभन्दा बढी माया गरिन्छ, बिग्रियो भने सवैभन्दा बढी रिस उठछ ।आक्रोश पैदा हुन्छ, कतै हामी पनि त्यही काम त गरिरहका छैनौं ?’ प्रचण्डले भन्नुभयो ।
बिश्व कम्युनिस्ट आन्दोलनको सर्वनास भएका घटनाबाट पाठ सिकेर सत्तालाई जनताको हितमा प्रयोग गर्नूपर्ने आवश्यकता पनि उहाँले औल्याउनु भयो । ‘सत्तामा पुगेपछिको गतिबिधिको कारण मान्छेमा कति धेरै आक्रोश देखियो भन्ने यथार्थ हामीले बिश्व इतिहासबाट देख्यौं, भोग्यौं,’ प्रचण्डले भन्नुभयो, ‘जनताले हामीलाई भरोसा गरे र सत्तामा पनि पुग्यौं । तर अव समाजवादको यात्रा तय गर्ने बिचार, त्यस अनुसारको ब्यवहार, आचरण, क्रियाकलाप अघि बढेको छ कि छैन ?’ उहाँले साहना प्रधान जस्तो संघर्षशील नेतृलाई स्मरण गर्दा सवैले सच्चा कम्युनिस्ट योद्धा बन्ने अठोट गर्नुपर्ने बताउनु भयो ।
‘अव राजनीतिक क्रान्ति सकियो, तर हामीलाई चाहिएको छ, अर्काे एउटा आन्दोलन, अर्काे एउटा अभियान, अर्काे एउटा मिसन, जस्ले हामीले अबलम्बन गरेको बिचारअनुसारको ब्यवहार होस,’ प्रचण्डले भन्नुभयो, ‘आचरण र ब्यवहार सुध्रिएन भने हाम्रो गति पनि पूर्वी युरोपको पार्टी भन्दा फरक हुन्न, भन्न त सकिएला । हिजोका राजा महाराजाले पनि बिकाशको मुल फुटाउने कुरा त गरेकै हुन । तर बिकाशको मुल त फुटेन, अर्कै मुल फुट्यो । त्यसैले भन्नुको अर्थ हुँदैन, हामीले के गर्छौं त्यो नै मुल कुरा हो, भन्ने कुराको अर्थ छैन, गर्ने कुराको मात्रै अर्थ हुन्छ,’ प्रचण्डले भन्नुभयो ।
प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीको अयक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य घणश्याम भुसाल र साहना पुत्र ब्यवसायी उमेशलाल श्रेष्ठले साहना प्रधानका बिबिध पाटोबारे चर्चा गर्नुभएको थियो । सो अवसरमा साहना पुत्र उमेशले सरकारी श्राद्ध गरेर मात्रै साहना जस्तो नेताको योगदानको कदर हुन नसक्ने भन्दै साँच्चीकै उहाँको आचरणअनुसार पार्टी र सरकारलाई अघि बढाउन सुझाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्