जनता टाइम्स

६ आश्विन २०७६, सोमबार १२:४३

‘रामेछाप कप फुटसल’ को उपाधि अनेरास्ववियूलाई


काठमाडौं, असोज ६

पहिलो संस्करणको रामेछाप कप फुटसलको उपाधि अनेरास्ववियू रामेछापले जितेको छ । आइतबार भएको फाइनलमा लिखु भुजी युवा क्लब रामेछापलाई टाईब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियू च्याम्पियन बनेको हो । निर्धारित समयसम्म गोलरहित टुङ्गिएपछि टाई ब्रेकरमार्फत विजेताको टुङ्गो लगाइएको आयोजक रामेछाप–काठमाडौं पत्रकार समाजका महासचिव दीपेन्द्र गुरुङले जानकारी दिनुभयो ।

शान्तिनगर फुटसलमा भएको फाइनल खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । उपाधिसँगै अनेरास्ववियूले २५ हजार प्राप्त गरेको छ । लिखु भुजीले १५ हजार प्राप्त गर्दा तेस्रो भएको डाइनामिक युथले १० हजार प्राप्त गरेको छ । महाकाली युवा क्लबलाई २–० ले पराजित गर्दै डाइनामिक युवा क्लब तेस्रो भएको हो ।

विजेता खेलाडीलाई रामेछाप जिल्लाका सांसद श्यामकुमार श्रेष्ठ, जिल्ला विकास खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष पुरुषोत्तम कडेरिया, भलिबलका राष्ट्रिय रेफ्री सिताराम कार्की, व्यवसायी राकेश श्रेष्ठ लगायतले पुरस्कृत गर्नुभएको थियो । ‘रामेछाप–काठमाडौं पत्रकार समाज’ ले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले समाचारमार्फत सबैलाई सूसुचित गर्ने पत्रकारहरूले फुटसल प्रतियोगितामार्फत जिल्लाबासीलाई जोड्ने महत्वपूर्ण काम गरेको बताउनुभयो ।

यस्तै समाजको कोषाध्यक्ष यसिमा महतले यस कार्यक्रमले पत्रकारहरु कलम मात्रै चलाउने होइन शारीरिक, मानसिक, बौद्विक सबै हिसाबले जुनसुकै क्षेत्रको पनि काम गर्न सक्छन् भन्ने उदाहरण दिएको बताउनुभयो । समाजका अध्यक्ष प्रेम गौतमले रामेछापको वृद्धि, विकासको लागि कलम चलाउने, अन्य खवरदारीमा पनि आफू र आफ्नो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

त्यस्तै उहाँले पत्रकारिता क्षेत्रसँगै जिल्लाको विकासमा संस्था लागि पर्ने भन्दै रामेछापबासीबीच सद्भाव, एकता एवं मनोरञ्जन गराउने उद्देश्यले आयोजना गरिएको खेलमा सहभागी सबैलाई धन्यवाद दिनुभयो । प्रतियोगितामा रामेछाप जिल्ला भरिबाट २७ टोलीले सहभागीता जनाएका थिए । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो । रामेछाप–काठमाडौं पत्रकार समाज रामेछापबाट काठमाडौं आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरुको साझा संस्था हो।