काठमाडौं, फागुन २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक बनाउनका लागि एमालेलाई सबल र निर्णायक शक्ति बनाउनु पर्ने निश्कर्ष सुनाउनु भएको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
उहाँले देश निर्माणको लागि सबल र निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले नेकपा एमाले सबल राष्ट्रिय शक्ति भए पनि निर्णायक राष्ट्रिय शक्ति नबनेको भन्दै अव बनाउनै पर्ने बताउनु भयो । २०८४ को निर्वाचनमा नेकपा एमालेलाई सबल राष्ट्रिय शक्तिबाट निर्णायक सुदृढ राष्ट्रिय शक्ति बनाउनु पर्ने उहाँले बताउनुभयो ।
‘अरू राष्ट्रिय शक्ति बन्न सक्दैनन, एमाले राष्ट्रिय शक्ति बन्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो । कार्यक्रममा अध्यक्षै ओलीले समृद्ध नेपाल : सुखी नेपालीको लागि नेकपा एमाले नै सत्तामा पुग्नुपर्ने बताउनुभयो । त्यसको लागि पार्टी एक भएर अघि बढ्नुपर्नेमा ओलीले जोड दिनुभयो । उहाँले सबैभन्दा महत्वपूर्ण कुरा एकता नै भएको बताउँदै संगठन र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनु पर्ने बताउनुभयो । त्यसको लागि विचार प्रमुख विषय भएको उहाँले प्रष्ट पार्नुभयो । लक्ष्य नतोकी हिँडियो भने गन्तव्य निश्चित नहुने उहाँको भनाई छ ।
‘सँगै हिँड्दा बल हुन्छ, उछिन–पाछिन गर्दा बल हुँदैन, अनेकता हुँदा बल हुँदैन, एकता हुँदा बल हुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो । चुनावदेखि चुनावसम्म, पददेखि पदसम्मको राजनीति देश र जनताको लागि हितकर नहुने ओलीले बताउनुभयो । अहिलेको अवस्थाबाट उन्नत र समृद्ध समाज निर्माण गर्ने कुरा राजनीतिक लक्ष हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अहिले नयाँ नयाँ भन्ने दल र नेता निस्किएका बताउँदै ओलीले गत साल नै पार्टी खोलेकाहरू पनि अब पुराना हुँदै गएका बताउनुभयो । सडकमा जम्मा भएका मानिसलाई हात उठाउन लगाएर सांसदको उम्मेदवार बनाएकाहरूले गठबन्धनको वितृष्णबाट दिक्क भएका जनताको मत लिन सफल भएका ओलीको टिप्पणी छ । उनीहरूको कुनै गन्तव्य तथा राजनीतिक लक्ष र उद्देश्य नभएको ओलीले स्पष्ट पार्नुभयो ।
झिल्के मिल्के कुरा गरेर दिगो राजनीति गर्न नसकिने ओलीले बताउनुभयो । राजनीतिको लागि दिगो सोच र लक्ष हुने पर्ने ओलीको धारणा छ ।
एमाले केही पनि होइन भन्ने दक्षिणपन्थी शक्तिलाई एमालले राम्रो जवाफ दिएको ओलीले बताउनुभयो । एमालेको शक्ति देखेर दक्षिणपन्थीले गम खाएका उहाँको भनाइ छ ।
ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि आवेदन दिने मध्य राम्रा मान्छेलाई फालेर आफ्ना आसेपासेको नाम सर्ट लिस्टमा निकालिएको भन्दै ओलीले आलोचना गर्नुभयो ।
विश्व विद्यालयलाई राजनीतिमुक्त गर्छु भन्दै खोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा घोर राजनीति गर्नुभएको उहाँले प्रष्ट पार्नुभयो । एमाले बाहेक अन्य कुनै पनि शक्तिले सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गर्न नसक्ने ठोकुवा पनि उहाँले गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्