काठमाडौं, फागुन ३ । चर्चित लोकदोहोरी प्लेटफर्म इन्द्रेणीमा चरम बिवाद रहेको तथ्य खुलेको छ । इन्द्रेणीबाट अघोषित रुपमा निष्काशनमा परेका पाँच जना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलमाथि आरोप लगाएसँगै सो समुहको बिवाद छताछुल्ल भएको हो ।
इन्द्रेणी समुहमा कार्यरत शर्मिला श्रेष्ठलगायतका कलाकारहरू संयुक्त रूपमा सञ्चालक कँडेलबिरुद्ध लाइभमा आउनु भएको हो । लाइभमा शर्मिलासहित खगेन्द्र विश्वकर्मा, पूर्ण कँडेल, लक्ष्मी घिमिरेलगायत हुनुहुन्छ ।
कलाकारहरूले पुसदेखि आफूहरूलाई कार्यक्रममा नबोलाइएको भन्दै आक्रोश पोखे । लाइभमा कलाकारद्वय पूर्ण कँडेल र लक्ष्मी घिमिरेले आफूहरूमाथि हातपातसमेत भएको बताउनु भएको छ । लाइभमा दिइएको जानकारी अनुसार पाँच जनालाई बोलाएको बेलामा मात्रै आउने भनेर कागजमा सही गर्न लगाइएको छ ।
कलाकारहरुले आर्थिक कारणले तलवमा राख्न नसक्ने भनेर कँडेलले बताएको तर कार्यक्रम नियमित सुटिङ हुँदा पनि नबोलाएर आफूहरूलाई अघोषित निष्कासन गरिएको बताए ।
कँडेल र घिमिरे सञ्चालक कृष्ण कँडेलका नातेदारसमेत हुनुहुन्छ । इन्द्रेणीमा नियमित देखिने शर्मिला लाइभमै रुनुभएको थियो । आफ्नो बुवाआमाले कृष्ण कँडेललाई भगवान मान्ने तर आफूलाई उनैले अन्याय गरेको भन्दै शर्मिला रुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्