जनता टाइम्स

३ फाल्गुन २०८०, बिहीबार १७:३४

च्यातियो प्रचण्ड–नारायणकाजीको सुशासनको पर्दा, माओवादी बिधान सम्मेलनमा भेटिए अदालतबाट दोषी ठहर भएका अपराधी


काठमाडौं, फागुन ३ । अदालतले दोषी ठहर गरेको अपराधी सत्तारुढ नेकपा माओवादी केन्द्रको बिधान सम्मेलनमा सहभागी भएका छन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीको बिधान सम्मेलना सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर झापाका गगन पुरी सहभागी हुनुभएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झापाका नेता पुरीसहित दुई जनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा माघ २८ गते दोषी ठहर गरेको थियो । पुरीको सजाय निर्धारण भने फागुन ६ गते हुने तय भएको छ ।

झापाको दमक नगरपालिका–१३ को सरकारी जग्गा हडपेर व्यक्तिगत सम्पत्ति कायम गरेको अभियोगमा पुरीलाई विशेष अदालतले दोषी ठहर गरेको हो । पुरीको ४ करोड रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको ठहरसमेत विशेष अदालतले गरेको छ ।

पुरीसहित ६ जनाविरुद्ध २०७७ माघ २१ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ६ जनाविरुद्ध मुद्दा दायर भएकामा पुरी र उहाँकी पत्नी दोषी ठहर भएका हुन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सम्मेलनमा सहभागी सबैजसो नेतालाई पुरी अदालतबाट दोषी ठहर भएको जानकारी रहे पनि सत्ताको आडमा जोगाउने योजनासहित सम्मेलनमा सहभागी गराइएको माओवादीकै केही नेताले बताएका छन ।

विधान सम्मेलनकै क्रममा पुरीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई आफू सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी देखिएको मुद्दा छानबिनका लागि पत्र बुझाउनु भएको छ ।

बिधान सम्मेलनमा अदालतले दोषी ठहर गरेको अपराधी सहभागी भएपछि प्रधानमन्त्री दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्ने गरेको सुशासनको पर्दा च्यातिएको छ ।