जनता टाइम्स

३ फाल्गुन २०८०, बिहीबार १९:५३

माओवादीले घटायो केन्द्रीय कमिटीको आकार, नाम र झण्डा फर्ने प्रस्ताव खारेज


काठमाडौं, फागुन ३ । नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ । काठमाडौंमा जारी विधान अधिवेशनमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो निर्णय सुनाउनु भएको हो ।

अध्यक्ष दाहालले पार्टीको नाम र चिह्न तत्काल नफेर्ने तर आवश्यक परे पछि निर्णय लिने बताउनु भयो । माओवादीमा शहरी क्षेत्रका जनता पार्टीको नामप्रति नै असहमत रहेकोले संगठन विस्तार गर्न अप्ठेरो भएको भन्दै नेताहरुले नाम र चुनाव चिह्न फेर्नुपर्ने माग राखेका थिए ।

माओवादी विचार मिल्ने शक्तिसँग एकताको लागि नाम फेर्न तयार रहेको उसले बताउँदै आएको छ । यस्तै अध्यक्ष दाहालले केन्द्रीय कमिटीको आकार घटाउँदै १९९ सदस्यीय बनाउने निर्णय सुनाउनु भएको छ । उहाँले पार्टी अव प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने समेत बताउनु भयो ।

माओवादीमा हाल केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ जना गरी ५ सय ८४ सदस्यीय रहेको छ । केन्द्रीय कमिटीको आकार ठूलो भएको भन्दै चर्को आलोचना भइरहेको बेला विधान मस्यौदा कार्यदलले १५१ सदस्यको प्रस्ताव गरेको थियो ।

अध्यक्ष प्रचण्डले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संशोधित विधान प्रस्तुत गर्दै १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय सुनाउनु भएको हो ।