जनता टाइम्स

४ फाल्गुन २०८०, शुक्रबार ११:०८

पूर्वअर्थमन्त्री बिष्णु पौडेलको ठहर : विद्युतीय सवारीको नीतिमा सरकारले उल्टो कदम चाल्यो


काठमाडौं, फागुन ४ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी साधनको नीतिमा सरकारले उल्टो कदम चाल्न खोजेको बताउनु भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो । पौडेलले सरकार आफैँले बनाएको विद्युतीय सवारी साधनप्रतिको नीतिको उल्टो बाटोमा जान खोजेको देखिएको उल्लेख गर्नुभयो । उहाँले विद्युतीय सवारी साधानको आयातले पेट्रोलियम सवारी साधनको आयातमा कमी गरे पनि त्यसले पारेको वातवरणीय सुधारलाई सरकारले बेवास्था गरेको बताउनु भयो ।

सरकारले राजश्व परिचालनको दृष्टिकोणले मात्रै भन्दा पनि पेट्रोलियम पदार्थ आयातको कमीले मुलुकको विदेशी मुद्रा सञ्चिति, वातावरण प्रदुषणको कमी गरी वातावरणीय सुधारको योगदानलाई हेर्नुपर्ने उहाँको सुझाव छ । अर्थमन्त्री स्वयं र राजश्व सचिव लगायतले लगातार विद्युतीय सवारी साधनको कारण राजश्व घटेको भन्नु सरकारको गलत बुझाई देखिएको पौडेलको भनाइृ छ । विद्युतीय सवारी साधनको आयात बढेको कारण अपेक्षित राजश्व उठ्ने भनेर अर्थमन्त्रीले लगातार हाइसाउण्ड गर्नु गलत कदमको संकेत भएको पनि पौडेलले प्रष्ट पार्नुभयो ।

उहाँले अर्थमन्त्री स्वयंले तय गरेको दरबाट यो राजश्व उठ्ने आँकलन विषयलाई बिर्सन नहुने सुझाव दिनुभयो । चालू वर्षमा सरकारले मध्यावधि मूल्यांकनबाट बजेटको संशोधित निर्धारण गरिएका लक्ष्यहरूले बजेटको सामाथ्र्यमाथि नै प्रश्न उठेको समेत पौडेलको भनाई छ ।

पूर्वअर्थमन्त्री पौडलले जलविद्युतमा आत्मनिर्भर हुँदै जाने,आन्तरिक उर्जाको खपत बढाएर अन्तर्राष्ट्रिय बजार विद्युत व्यापार गर्ने भन्ने तर मुलुकको आन्तरिक राजश्वमा कमी आउँछ भनेर पेट्रोलियम पदार्थको प्रयोग गर्ने सवारी साधनहरुलाई सरकारले आयात गर्न दिइरहन नहुने बताउनु भयो ।

उहाँले सरकारको नीति विद्युतीय सवारी साधनलाई नियमन र नियन्त्रण गर्ने आयात कम गरेर उल्टो बाटो जान खोजेको देखिएको बताउनु भयो । उहाँले राजश्वका अन्य वैकल्पिक स्रोतहरु खोज्नुको सट्टा सरकार वद्युतीय सवारी साधनलाई देखाएर आफ्नो कमजोरीलाई लुकाउन खाजेको तथ्य पनि राख्नुभयो ।

‘अर्थमन्त्रीले बढी नै महत्व दिएर विद्युतीय सवारी साधनमा धारेहात लगाउनु भएको छ । विद्युतीय सवारी साधनमा सरकारले भन्सार र अन्तःशुल्क लगाएको कारणले गर्दा लक्ष्य अनुसारको राजश्व उठ्न सकेन भन्ने कुरा विद्युतीय सवारी साधनप्रतिको आक्रोस हो,’ पूर्वअर्थमन्त्री पौडेलले भन्नुभयो ।

विद्युतीय सवारी साधनमा कति प्रतिशत अन्तःशुल्क र भन्सार उठ्छ भनेर अर्थमन्त्रीले लक्ष्य निर्धारण गर्नुभएको भन्दै पौडेलले आफैँले तय गरेको दरका आधारमा राजश्वको लक्ष्य निचिश्त गरेको होइन ? भनी प्रश्न गर्नुभयो ।