काठमाडौं, फागुन ४ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट १८ खर्बको सिलिङमा आउने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गरी बजेटको सिलिङबारे जानकारी दिनुभएको हो ।
अर्थमन्त्री महतका अनुसार राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि १८ खर्बको सीमाभित्र रहेर बजेट सिलिङ तय गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्बको बजेट सिलिङ निर्धारण गरेको हो ।
अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटको आधार नघटाएको पनि जानकारी दिनुभयो । उहाँले बजेट संभव भएजति खर्च गर्न कोशिस गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँका अनुसार चालु वर्षमा पनि राजस्वको परिचालन सुस्त देखिएको, वैदेशिक सहायता अपेक्षित आउन नसकेको अवस्थामा बजेटको आकार चालु वर्षको तुलनामा करिब ५० अर्ब मात्रै बढाउन भनिएको छ ।
सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको थियो । तर, मध्यावधि मूल्यांकन गर्दै खर्च हुन सक्ने बजेट भने १५ खर्ब ३० अर्ब आँकलन गरिएको छ । योजना आयोग स्रोतका अनुसार आगामी वर्षको पुँजीगत खर्च चालुको तुलनामा केही अर्ब मात्रै बढी हुनेछ । यस वर्ष सरकारले पुँजीगत खर्च गर्न ३ खर्ब २ अर्ब विनियोजन गरेको थियो ।
तर सार्वजनिक ऋणको सावाँ ब्याजको भुक्तानी दबाबले चालु र वित्तीय व्यवस्थापन शीर्षकको बजेट बढ्ने छ । सरकारले आगामी वर्षमा करिब ४ खर्ब ३६ अर्ब सार्वजनिक ऋणको सावाँ ब्याज भुक्तानी गर्दैछ । ब्याज भुक्तानीका लागि चालु खर्च र सावाँ फिर्ताका लागि वित्तीय व्यवस्थापन खर्च बढाउनु पर्छ ।
प्रतिक्रिया दिनुहोस्